२०८३ साउन २१ गते बिहीबार

१५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

१५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ ३० गते बिहीबार ०९:०१

प्रतियोगितामा सात प्रदेशबाट ६ सय ८६ खेलाडीले कुल ६६ स्वर्ण, ६६ रजत र ९८ कांस्य पदकका लागि प्रतिस्पर्धा गर्ने छन् ।
यो पटकको प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु गरी ६ खेल समावेश छन् ।

काठमाडौं ।

१५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुधबारबाट शुरु भएको छ ।

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा विभिन्न कार्यक्रमसहित हिजो राष्ट्रपति रामचन्द्र पौडेलले प्रतियोगिताको उद्घाटन गरेका हुन् ।

उद्घाटन अवसरमा राष्ट्रपति पौडेलले खेलकुदको माध्यमबाट एक असल नागरिक बनाउन मद्दत गर्ने बताउँदै खेलाडी उत्पादनको राम्रो माध्यम नै विद्यालय तहबाट खेलाडी छनोट रहेकाले प्रतियोगिता धेरै महत्वपूर्ण रहेको बताए ।

साहसिक खेलकुदका लागि नेपाल उत्कृष्ट गन्तव्य रहेकाले राज्यले यसमा लगानी बढाउनु पर्ने उनको भनाइ छ ।

युवा तथा खेलकुद मन्त्रालयको सहयोग र राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा सुरु भएको प्रतियोगितामा सात प्रदेशबाट ६ सय ८६ खेलाडीले कुल ६६ स्वर्ण, ६६ रजत र ९८ कांस्य पदकका लागि प्रतिस्पर्धा गर्ने छन् ।

यो पटकको प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु गरी ६ खेल समावेश छन् ।

तीन दिनसम्म चल्ने यो प्रतियोगिताले देशभरका युवा खेलाडीहरूको प्रतिभालाई उजागर गर्ने मञ्च प्रदान गरेको छ ।

स्थानीय तहदेखि जिल्ला र प्रदेशस्तरसम्म आयोजना हुने यो प्रतियोगिताले विद्यार्थीहरूलाई राष्ट्रिय स्तरमा पुग्ने अवसर दिन्छ ।

यता रेफ्री तथा प्रशिक्षकको तालाबन्दीका कारण १५ औँ राष्ट्रपति रनिङ शिल्ड उसु प्रतियोगिता अवरुद्ध भएको छ ।


सम्बन्धित प्रदेशहरूबाट प्रतियोगिताका लागि आफूहरूलाई नै रेफ्रीका निम्ति मनोनीत गरेर पठाए पनि नवराज ढुङ्गाना विश्वास महासचिव रहेको नेपाल उसु महासंघको रेफ्री सूचीमा आफूहरू नपरेकाले ६ वटा प्रदेशका प्रशिक्षक एवं रेफ्रीहरूले प्रतियोगिता आयोजना स्थलमा तालाबन्दी गरेका छन् ।

लुम्बिनी, मधेश, कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका रेफ्री तथा प्रशिक्षकले राखेपको मिनी कभर्ड हलको उसु हलमा तालाबन्दी गरेको अर्को उसु महासंघका महासचिव लाक्पा छिरिङ लामाले बताए ।

प्रकाशित मिति २०८२ जेठ ३० गते बिहीबार ०९:०१
हजुरको प्रतिक्रिया