काठमाडौं ।
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले भिजिट भिसा प्रकरणमा सरकार अपेक्षित रूपमा लचक नभएको टिप्पणी गरेका छन् ।
बुधबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपमहासचिव पुनले यस्तो टिप्पणी गरेका हुन् ।
भिजिट भिसा प्रकरणको सम्बन्धमा सरकार नरमको हुनुको सट्टा झन गरम हुँदै गएको उल्लेख गर्दै उनले जिम्मेवार बन्नुपर्ने बताए ।
उनले भिजिट भिसा प्रकरणलाई प्रतिपक्षको विषय नभई आम जनताको पीडा भएको भन्दै सरकार छानविनमा प्रतिवद्ध हुनुपर्नेमा जोड दिए ।
उनले भने, ‘भिजिट भिसा प्रकरणबारे सरकार भनेजति अझै लचक भएको छैन । भोलिसम्म सरकार जिम्मेवारपूर्वक र लचकताका साथ प्रश्तुत हुन्छ भन्ने आशा छ । हामी धेरै नरम भएका छौँ, सरकार गरम छ । सरकार अलि नरम र जिम्मेवार हुुनुपर्छ । यो विषय प्रतिपक्षको नभई जनताको विषय हो । आम जनताले दुःख पाइराखेको छ । यसबारे छानविन गरेर तथ्यहरु स्थापित गर्नको लागि सरकार प्रतिवद्धता अनिवार्य हो नि त ।’
भिजिट भिसाको आवरणमा हुँदै आएको मानव तस्करी प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता भए नभएको बुझ्न र प्रकरणको छानविन गर्न उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै विपक्षी दलहरूले संसद अवरोध गर्दै आएका छन् ।
प्रकाशित मिति २०८२ जेठ ३० गते बिहीबार ०९:०८




