काठमाडौं ।
सभामुख देवराज घिमिरेले संसद प्राणहीन बनाउने कामहरु नगर्न सांसदहरुसँग आग्रह गरेका छन् ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा विपक्षी राजनीतिक दलहरुले संसद अवरुद्ध बनाएसँगै सभामुख घिमिरेले यस्तो आग्रह गरेका हुन् ।
उनले सदन दुई हप्तादेखि अवरुद्ध रहेको भन्दै उनले देशका समस्याहरु समाधान गर्ने सर्वोच्च निकाय संसद भएकाले छलफलको वातावरण बनाउन आग्रह गरे ।
सभा सञ्चालन नभएसम्म संसदले गर्ने काम अघि बढ्न नसक्ने उनको भनाइ छ ।
दुई साता यता भिजिट भिसा प्रकरणबारे गृहमन्त्रीको राजीनामा माग गर्दै विपक्षी राजनीतिक दलहरुले संसद अवरोध गर्दै आएका छन् ।
विपक्षी दलको अवरोधका कारण हिजो पनि प्रतिनिधिसभाको बैठक बस्न सकेन ।
बैठकमा प्रतिपक्ष दलले उठेर नाराबाजी कायमै राखेपछि बैठक आज दिउँसो तीन बजे बस्नेगरी स्थगित भयो ।
त्यसअघि हिजै सभामुख देवराज घिमिरेको पहलमा प्रतिनिधिसभाको अवरोध खुलाउने विषयमा सत्तापक्ष र प्रतिपक्षी दलहरूको संयुक्त बैठक बसेको थियो ।
तर बैठकमा कुनै सहमति हुन सकेन । विपक्षी दलले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा, संसदीय समिति वा न्यायिक आयोग बनाउनुपर्ने माग राख्दै आएका छन् ।
जेठ १३ गतेपछि बजेट प्रस्तुत गर्ने दिन जेठ १५ गते बाहेक लगातार प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित हुँदै आएको छ ।
विपक्षी राजनीतिक दलहरुको अवरोधपछि प्रतिनिधि सभाको बैठक बिहीवार ३ बजेलाई बोलाइएको छ ।
प्रकाशित मिति २०८२ जेठ ३० गते बिहीबार ०९:१०




