२०८३ साउन २१ गते बिहीबार

दुर्गा प्रसाईंसहित ७ जनालाई थुनामा पठाउन र ३२ जनालाई धरौटीमा रिहा गर्न आदेश

दुर्गा प्रसाईंसहित ७ जनालाई थुनामा पठाउन र ३२ जनालाई धरौटीमा रिहा गर्न आदेश

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ ३१ गते शुक्रबार ०९:४१

काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुर्वराज कार्कीको इजलासले बिहीबार राति ढिलोगरी आदेश जारी गरेको थियो । १५५ पानाको आदेशमा अदालतले राजावादी आन्दोलनका मुख्य कमाण्डर दुर्गा प्रसाईंसहित सात जना सरोज गौतम, गोकर्ण शाही, दण्डपाणी रेग्मी, सुशिल बराल, केशव बस्नेत, कुमार तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

पोखरा ।

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी आन्दोलनका प्रतिवादीहरूमध्ये ७ जनालाई थुनामा र ३२ जनालाई धरौटीमा रिहा गर्ने आदेश भएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुर्वराज कार्कीको इजलासले बिहीबार राति ढिलोगरी आदेश जारी गरेको थियो । १५५ पानाको आदेशमा अदालतले राजावादी आन्दोलनका मुख्य कमाण्डर दुर्गा प्रसाईंसहित सात जना सरोज गौतम, गोकर्ण शाही, दण्डपाणी रेग्मी, सुशिल बराल, केशव बस्नेत, कुमार तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

राति झण्डै सवा १२ बजेमात्रै अदालतबाट प्रसाईंसहित ७ जना प्रतिवादीलाई थुनामा र ३२ जनालाई धरौटीमा रिहा गर्ने आदेश भयो ।

सोही अनुसार, जिल्ला प्रहरी परिसर काठमाडौंले अहिले मुद्दा अनुसार काम अघि बढाएको छ ।

तीनकुने घटनामै संलग्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवल शमशेर जबरा र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको बारेमा भने हिजोको आदेशमा केही उल्लेख छैन ।

अदालतमा उपस्थित नै नभएको भन्दै मिश्र र जबरालाई भने फरार प्रतिवादीको रुपमा अदालतले राखेको छ ।

आदेश लेखनको काम दुई दिनदेखि नै भइरहेको थियो । धेरै प्रतिवादी र अभियोग एकैसाथ भएकाले आदेश लेखनमा ढिलो भएको बताइएको छ । साँझ ५ बजे नै थुनछेक बहस सकिए पनि रातिमात्रै आदेश सार्वजनिक भएको थियो ।

दुर्गा प्रसाईँ समर्थक युवा समूह एटीएफमा आबद्ध हरिहर चौलागाईँलाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश भएको छ ।

सन्तोष राजावादी भनिने सन्तोष कुमार सिलवाललाई १ लाख र हेमराज थारु ‘भीम’लाई १ लाख धरौटीमा रिहा गर्न आदेश भएको छ। पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईँको क्यान्सर उपचारको व्यवस्था मिलाउन अदालतले आदेश दिएको छ ।

राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंसहित आठ जनालाई कर्तव्य ज्यानको समेत मुद्दा लगाइएको थियो ।

गत चैत १५ मा तीनकुनेमा भएको हिंसात्मक आन्दोलनको विषयमा जेठ ११ मा सरकारी वकिल कार्यालयले ६१ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

प्रकाशित मिति २०८२ जेठ ३१ गते शुक्रबार ०९:४१
हजुरको प्रतिक्रिया