पोखरा ।
पोखरामा भोलिदेखि तेस्रो गण्डकी प्रदेश स्तरीय टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।
प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा भोलिदेखि उक्त प्रतियोगिता हुन लागेको हो ।
असार ६ गतेसम्म प्रतियोगितामा गण्डकी प्रदेशका ८ जिल्लाले सहभागिता जनाएका छन् । सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा स्याङजा, बागलुङ, तनहुँ र म्याग्दी तथा समूह बी मा कास्की, पर्वत, नवलपुर र गोरखा छन् । दुवै समूहका शीर्ष स्थानमा रहने टोलीले फाइनल खेल्नेछन् ।
प्रतियोगिताअन्तर्गत पहिलो दिन शनिबार दुई खेल हुनेछ । पहिलो खेल स्याङ्जा र म्याग्दीबिच बिहान ९ बजेबाट सुरु हुनेछ । भोलिको दोस्रो खेल तनहुँ र बागलुङबिच हुनेछ । उक्त खेल दिउँसो एक बजेबाट सुरु हुनेछ ।
प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार पुरस्कार पाउने प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ४ हजार, उत्कृष्ट ब्याटर, बलर र उदियमान खेलाडीलाई जनही २ हजार र ‘प्लेयर अफ द म्याच’ लाई १ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रदेशमा यूवा खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान दिने अपेक्षा राखिएको अध्यक्ष सिग्देलले बताए । क्रिकेट मैदानको व्यस्तता, यसको मर्मत सम्भार र सन २०२७ सम्म यू–१९ महिला टि२० आई विश्वकपसम्म अघि बढाउन सबैको दायित्व रहेको उनको भनाइ छ ।
प्रकाशित मिति २०८२ जेठ ३१ गते शुक्रबार ०१:०८




