२०८३ असोज २३ गते शुक्रबार

गण्डकी प्रदेशस्तरीय पुरूष टि–२० क्रिकेट प्रतियोगितामा तनहुँ र स्याङजाकाे लगातार दोस्रो जित

गण्डकी प्रदेशस्तरीय पुरूष टि–२० क्रिकेट प्रतियोगितामा तनहुँ र स्याङजाकाे लगातार दोस्रो जित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार १ गते आइतबार ०७:१७

आज भएको दोस्रो खेलमा स्याङ्जाले उत्कृष्ट प्रदर्शन गर्दै बाग्लुङलाई ७८ रनले हरायो ।

पोखरा ।

गण्डकी प्रदेशस्तरीय पुरूष टि–२० क्रिकेट प्रतियोगितामा तनहुँ र स्याङजाले लगातार दोस्रो जित निकालेका छन् ।

समुह ‘ए’ अन्तर्गत पोखरा क्रिकेट रंगशालामा जारी प्रतियोगितामा आफ्नो दोस्रो खेलमा तनहुँले १ सय ७७ र स्याङजाले ७८ रनको जित निकाल्न सफल रहे । म्याग्दीले टस जितेर पहिला फिल्डिङ रोजेपछि तनहुँले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २२३ रनको विशाल योगफल खडा ग¥यो । तनहुँको जितमा कृष ऐरले ४८ बलमा १०२ शतकिय पारी खेले ।

दिपेश अधिकारीले ५१ रन बनाए । तनहुँका लागि समीर कँडेलले १८ र सुप्रिम सुनार २३ रनको योगदान दिए । बलिङमा म्याग्दीका रोशन कार्की, सागर कटुवाल, र हरि सुवेदीले समान १–१ विकेट लिए ।

२ सय २४ रनको लक्ष्य पछ्याउन उत्रिएको म्याग्दी १४ ओभर ४ बलमा ४६ रनमा अलआउट भयो । म्याग्दीका रोशन कार्कीले १८ रन बाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अंक पार गर्न सकेनन् । तनहुँका सन्दीप पराजुलीले ३, चन्द्रकान्त पौडेलले २ तथा नरेश शाही, वंश क्षेत्री, कृष अयेर, प्रदीप यादव र कबिन्द्र पण्डितले समान रूपमा एक–एक विकेट लिए ।

आज भएको दोस्रो खेलमा स्याङ्जाले उत्कृष्ट प्रदर्शन गर्दै बाग्लुङलाई ७८ रनले हरायो । टस जितेर पहिले ब्याटिङ गरेको स्याङ्जाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १७८ रन बनायो । स्याङ्जाका कप्तान सन्दीप खत्री क्षेत्रीले आक्रामक ब्याटिङ गर्दै ६१ रन बनाए । अंकित न्यौपानेले ३६ रन र अश्वनी रानाले २० रनको योगदान दिए । बाग्लुङका अश्विन थापाले सर्वाधिक ४ विकेट लिए ।

१७९ रनको लक्ष्य पछ्याएको बागलुङ २० ओभरमा एक सय रनमा समेटियो । बाग्लुङका लागि दीपेश कुँवरले सर्वाधिक २७ रन बनाए । स्याङ्जाका अश्वनी रानाले ४, अंकित न्यौपाने र तुलसीराम भण्डारीले पनि २–२ विकेट लिए ।

प्रकाशित मिति २०८२ असार १ गते आइतबार ०७:१७
हजुरको प्रतिक्रिया