पोखरा ।
लगातार तेस्रो जितसँगै स्याङ्जा पोखरामा जारी गण्डकी प्रदेशस्तरीय टि–२० क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालास्थित क्रिकेट मैदानमा भएको आफ्नो तेस्रो खेलमा स्याङ्जाले तनहुँलाई २९ रनले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । स्याङ्जाले यसअघि म्याग्दीलाई ६ विकेट र बागलुङलाई ७८ रनले पराजित गरेको थियो ।
समूह ‘ए’ अन्तर्गतको खेलमा स्याङ्जाले दिएको १८९ रनको लक्ष्य पछ्याएको तनहुँ १९ ओभर ३ बलमा १५९ रनमा समेटियो । तनहुँका समीर कंडेलले ४० र बंश क्षेत्रीले ५६ रन बनाए । बलिङमा स्याङ्जाका अंकित न्यौपानेले ४ विकेट लिए । करण पंगेनीले ३ विकेट हात पारे ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको स्याङ्जाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८८ रन बनाएको थियो । स्याङ्जाका सन्दीप खत्री क्षेत्रीले सर्वाधिक ९९ रन बनाए । अंकित न्यौपाने ३७ र इश्वर क्षेत्री २९ रन बनाएर आउट भए । बलिङमा तनहुँका चन्द्रकान्त पौडेलले र नरेश शाहीले समान २ विकेट लिए ।
यसअघि भएको पहिलो खेलमा बागलुङले म्याग्दीलाई ८ विकेटले पराजित गरेको छ । वर्षाका कारण घटाइएको खेलमा म्याग्दीले बागलुङलाई ६५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । ६५ रनको लक्ष्य बागलुङले ५ ओभर ३ बलमा २ विकेट गुमाएर पुरा गर्याे । बागलुङका सन्दीप यादव २० र सचिनराज अधिकारीले ३१ रन बनाए ।
म्याग्दीका रोशन कार्की र हरि सुवेदीले समान १–१ विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको म्याग्दीले १० ओभरमा ३ विकेट गुमाएर ६४ रन बनाएको थियो । म्याग्दीका दिनेश क्षेत्रीले १८ र सागर कटुवालले १५ रन बनाए । बागलुङका आश्विन थापा र कुशल खड्काले समान एकएक विकेट लिए । मंगलबारदेखि समूह ‘बी’ अन्तर्गतका खेलहरु सञ्चालन हुनेछ ।
प्रकाशित मिति २०८२ असार २ गते सोमबार ०७:३०




