२०८३ साउन २१ गते बिहीबार

त्रिदेशीय टी–२० आई शृंखला : आफ्नो दोस्रो खेलमा नेपालले आज स्कटल्यान्डसँग खेल्दै

त्रिदेशीय टी–२० आई शृंखला : आफ्नो दोस्रो खेलमा नेपालले आज स्कटल्यान्डसँग खेल्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार ३ गते मंगलबार ०९:०३

नेपाल र स्कटल्यान्डले आज आफ्नो दोस्रो खेल खेल्न लागेका हुन् । नेपाल, घरेलु टोली स्कटल्यान्ड र नेदरल्यान्ड्सबीच आइतबारदेखि टी–२० आइ शृंखला शुरू भएको हो ।

पोखरा ।

स्कटल्यान्डमा जारी त्रिदेशीय टी–२० आई क्रिकेट शृंखलाको दोस्रो खेलमा नेपालले आज घरेलु टोली स्कटल्यान्डसँग खेल्दैछ ।

खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे ग्लास्गोमा शुरू हुनेछ ।

नेपाल र स्कटल्यान्डले आज आफ्नो दोस्रो खेल खेल्न लागेका हुन् । नेपाल, घरेलु टोली स्कटल्यान्ड र नेदरल्यान्ड्सबीच आइतबारदेखि टी–२० आइ शृंखला शुरू भएको हो ।

आइतबार भएको पहिलो खेलमा स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ३९ रनले हराएको थियो ।

त्यस्तै हिजो भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भयो ।

नेदरल्यान्ड्सले जीतका लागि दिएको एक सय ५३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ५२ रन नै बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो ।

नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिएका थिए । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४८ रन बनाए ।

पहिलो सुपर ओभरमा नेपालले १९ रन बनायो । जवाफमा नेदरल्यान्ड्सले पनि १९ रन जोड्यो र बराबरी भयो । त्यसपछि फेरि खेल दोस्रो सुपर ओभरमा पुग्यो ।

दोस्रो सुपर ओभरमा नेदरल्यान्ड्सले १७ रन जोड्दा नेपालले जवाफमा १७ रन नै बनाएपछि खेल तेस्रो सुपरमा पुगेर छिनोफानो भयो ।

तेस्रो सुपर ओभरमा नेपालले ४ बलमा कुनै रन नजोडी २ विकेट गुमायो । जवाफमा नेदरल्यान्ड्सका माइकल लेभिटले सन्दीप लामिछानेको पहिलो बलमा नै छक्का प्रहार गरेर टोलीलाई जिताए ।

अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको मात्र नभई यो अन्तर्राष्ट्रिय क्रिकेटमै पहिलो तीन सुपर ओभरको खेल रह्यो । तालिकामा स्कटल्यान्ड र नेदरल्यान्ड्सको समान दुई अंक छ ।

योसंगै नेपालले आफ्नो तेस्रो खेल बिहीबार नेदरल्यान्ड्ससँग र चौथो तथा अन्तिम खेल शुक्रबार घरेलु टोली स्कटल्यान्डसँग खेल्नेछ ।

तीन टोलीले डबल राउन्ड रोबिनमा एक अर्कासँग प्रतिस्पर्धा गरेपछि सर्वाधिक अंक हुने टोली शृंखलाको विजेता बन्नेछ ।

प्रकाशित मिति २०८२ असार ३ गते मंगलबार ०९:०३
हजुरको प्रतिक्रिया