२०८३ असोज २६ गते सोमबार

प्रतिनिधि सभा बैठक आज बस्दै, संघीय निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची

प्रतिनिधि सभा बैठक आज बस्दै, संघीय निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार ३ गते मंगलबार ०९:११

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित संघीय निजामती सेवा विधेयक, २०८२ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची तय भएको हो ।

पोखरा ।

प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ ।

बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । आजको बैठकमा संघीय निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची तय भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित संघीय निजामती सेवा विधेयक, २०८२ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची तय भएको हो ।

सो प्रस्तावमाथि आज छलफल गरी पारित गर्ने कार्यसूची तय गरिएको छ । लामो समयपछि संघीय निजामती विधेयक पारित हुन लागेको हो ।

यस्तै, आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची निर्धारण गरिएको छ ।

यसैबीच प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर यही असार ६ गते हुने भएको छ ।

सोमबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले असार ६ गते बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर हुने जानकारी दिएका हुन् ।

साथै बैठकले विनियोजन विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रश्ताव सर्वसम्मत स्वीकृत गरेको छ ।

उक्त प्रश्ताव उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रश्तुत गरेका थिए ।

साथै, विनियोजन विधेयक, २०८२ माथिको विभिन्न मन्त्रालय एवं सचिवालय अन्तर्गतका विभिन्न शिर्षकहरूमाथि छलफल गर्न र सम्बन्धित मन्त्रीले आफ्नो मन्त्रालय र सचिवालयसँग सम्बन्धित प्रश्नहरूको उत्तर दिनको लागि असार ५, ६ र ७ गतेका दिनहरू तोकिएको सभामुख घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति २०८२ असार ३ गते मंगलबार ०९:११
हजुरको प्रतिक्रिया