पोखरा ।
तेस्रो गण्डकी प्रदेशस्तरीय टी–२० क्रिकेट प्रतियोगितामा समूह ‘बी’ अन्तर्गत कास्की र नवलपुरले विजयी सुरुवात गरेका छन् ।
कास्कीले पर्वतलाई २० रनले पराजित गर्दा नवलपुरले गोरखालाई ९१ रनको फराकिलो अन्तरले हरायो । दुवै टोलीले २–२ अंक जोड्दै समूह चरणमा अग्रता लिएका छन् । कास्कीले दिएको १०९ रनको लक्ष्य पछ्याएको पर्वत १३ ओभरमा ४ विकेट गुमाउँदै ८८ रनमा रोकियो । रोशन गौतमले ३५ रन बनाए भने सन्देश खड्का र अभिषेक थापाले क्रमशः १२ र १० रन जोडे । कास्कीका सिब्रिन श्रेष्ठले २ विकेट लिए । कृष्ण पौडेल र सुभाष भण्डारीले १–१ विकेट लिए ।
खराब मौसमका कारण १३ ओभरमा सीमित गरिएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको कास्कीले ९ विकेट गुमाउँदै १०८ रन बनाएको थियो । सफल श्रेष्ठले २२ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै आक्रामक ४० रन जोडे भने ओपनर अर्जुन कुमालले १२ बलमा २३ रन बनाए । बलिङमा पर्वतका अमृत गुरुङले ३ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए। रोशन गौतमले २ र राजु थापाले १ विकेट झारे ।
दोस्रो खेलमा टस जितेर पहिला ब्याटिङ गर्ने निम्तो पाएको नवलपुरले २० ओभरमा ८ विकेट गुमाएर १४३ रन बनाएको थियो । रिजन काफ्लेले ३६ बलमा ३७ रन, अपराजित पौडेलले २३ बलमा २६ रन र सुदीप अर्यालले १० बलमा २१ रनको योगदान दिए। गोरखाका युनिश थापाले ३, स्वरुप श्रेष्ठ र मेहुल श्रेष्ठले २–२ विकेट लिए ।
जवाफी ब्याटिङमा गोरखा १५.२ ओभरमा ५२ रनमै समेटियो। कप्तान गौरव पौडेल १६ रनमै आउट भए भने अन्य ब्याटर असफल रहे । नवलपुरका कमल परियार र स्विकार श्रेष्ठले समान ३ विकेट लिए, अपराजित पौडेलले २ विकेट लिए । अब बुधबार समूह ‘बी’ अन्तर्गत पर्वतले नवलपुर र गोरखाले कास्कीको सामना गर्नेछन् । समूह ‘ए’ बाट स्याङजा फाइनल प्रवेश गरिसकेको छ ।
प्रकाशित मिति २०८२ असार ३ गते मंगलबार ०७:५१




