जीतसँगै नेपाल अंक तालिकाको दोस्रो स्थानमा, नेपालले भोलि नेदरल्यान्ड्ससँग खेल्ने
पोखरा ।
स्कटल्यान्डमा जारी त्रिदेशीय टी–२० आई क्रिकेट शृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टोली स्कटल्यान्डलाई हराएको छ ।
मंगलबार राति भएकोे खेलमा नेपालले स्कटल्यान्डलाई २ विकेटले हराएको हो । स्कटल्यान्डले दिएको ९८ रनको लक्ष्य नेपालले १९ ओभर ५ बलमा ८ विकेटको क्षतिमा पूरा ग¥यो ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ३० रन बनाए भने दिपेन्द्र सिंह ऐरीले १४ रन बनाए । त्यस्तै बसिर अहमदले १३ रन बनाउँदा किरन ठगुन्नाले १० रन बनाएका थिए ।
नेपालका लागि विजयी रन भने सन्दीप लामिछानेले १ बल खेल्दै १ रन हानेर पुरा गरेका थिए ।
स्कटल्यान्डका माइकल लिस्क र सफ्यान सरिफले समान २ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्ड १९ ओभर ४ बलमा ९७ रनमा अलआउट भएको थियो । स्कटल्यान्डका लागि माइकल लिस्कले ४४ रन बनाए ।
नेपालको उत्कृष्ट बलिङमा सन्दीप लामिछानेले ४ ओभर बलिङ गर्दै ११ रन खर्चिएर ४ विकेट लिएका थिए । त्यस्तै करण केसी र दीपेन्द्र सिंह ऐरीले समान २ विकेट लिए ।
केसीले यही खेलमार्फत टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १०० विकेट पूरा गरे । करण सो उपलब्धि हासिल गर्ने नेपालको दोस्रो बलर हुन् ।
यसअघि सन्दीप लामिछानेले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट १०० विकेट लिएका थिए ।
प्रतियोगितामा नेपालको यो पहिलो जीत हो । जीतसँगै नेपाल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
नेपाल, नेदरल्यान्ड्स र स्कटल्यान्ड तीनै टोलीको समान २ अंक भएको छ । स्कटल्यान्ड शीर्ष स्थानमा रहँदा नेदरल्यान्ड्स पुछारमा छ ।
यसअघि सोमबार भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको थियो भने पहिलो खेलमा स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ३९ रनले पराजित गरेको थियो । अब नेपालले आफ्नो
तेस्रो खेल भोलि नेदरल्यान्ड्ससँग र चौथो तथा अन्तिम खेल शुक्रबार घरेलु टोलीसँग खेल्नेछ । तीन टोलीले डबल राउन्ड रोबिनमा एक अर्कासँग प्रतिस्पर्धा गरेपछि सर्वाधिक अङ्क हुने टोली शृङ्खलाको विजेता बन्नेछ ।
प्रकाशित मिति २०८२ असार ४ गते बुधबार ०९:०२




