२०८३ असोज २३ गते शुक्रबार

गण्डकी प्रदेशस्तरीय टी–२० क्रिकेटमा सोमबार पर्वत र कास्की विजयी

गण्डकी प्रदेशस्तरीय टी–२० क्रिकेटमा सोमबार पर्वत र कास्की विजयी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार ४ गते बुधबार ०७:५४

भोली हुने खेलबाट फाइनल प्रवेश गर्ने टिमको टुंगो लाग्नेछ ।

पोखरा ।

गण्डकी प्रदेशस्तरीय तेस्रो पुरुष टी–२० क्रिकेट प्रतियोगितामा सोमबार पर्वत र कास्की विजयी बनेका छन् ।

पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा सम्पन्न पहिलो खेलमा पर्वतले नवलपुरलाई १५ रनले पराजित गर्दै समुह ‘बी’ मा महत्त्वपूर्ण जित हासिल गरेको हो ।

दोस्रो खेलमा कास्कीले गोरखालाई १० विकेटको फराकिलो अन्तरले हराउँदै लगातार दोस्रो जित दर्ता ग¥यो । पहिलो खेलमा पर्वतले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३१ रन बनायो ।

पर्वतका लागि अभिषेक थापाले ४० बलमा ५२ रन बनाउँदै टोलीलाई सशक्त आधार दिएका थिए अभिराज पटेलले २९ बलमा ३७ रन र बिनोद नेपालीले १० बलमा १४ रनको योगदान दिए । नवलपुरका कमल परियार र सुदीप अर्यालले समान २–२ विकेट लिए ।

१३२ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नवलपुरले १८.५ ओभरमा ११६ रनमै समेटियो । गौरव विष्टले २५, स्विकार श्रेष्ठले १८ र बिगत पाण्डेले १७ रन बनाए तापनि अन्य ब्याटर राम्रो प्रदर्शन गर्न सकेनन् । पर्वतका कप्तान अमृत गुरुङले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए । राजु थापाले ३ विकेट र बिनोद नेपालीले २ विकेट लिए । उत्कृष्ट कप्तानी र बलिङ प्रदर्शनका लागि अमृत गुरुङ ‘प्लेयर अफ द म्याच’ घोषित भए ।

आजै भएको अर्को खेलमा कास्कीले गोरखालाई एकतर्फी दबाबमा राख्दै १० विकेटले पराजित गर्यौ । टस जितेर ब्याटिङ रोजेको गोरखाले १९.५ ओभरमा सबै विकेट गुमाउँदै ९० रनको योगफल तयार गर्यो ।

गोरखका लागि स्वरुपराज श्रेष्ठले १४ बलमा २१ रन र मेहुल श्रेष्ठले ४५ बलमा १८ रन बनाए । कास्कीका सुबास भण्डारीले ३.५ ओभरमा ३ विकेट लिए । सिब्रिन श्रेष्ठले २ विकेट तथा कृष्ण पौडेल र अर्जुन केसीले १–१ विकेट झारे ।

जवाफमा कास्कीले ८.४ ओभरमै लक्ष्य भेट्टायो । कास्कीका लागि अनिल गुरुङले २७ बलमा अविजित ५१ रन बनाउँदै आक्रामक पारी खेले । उनले ६ चौका र ३ छक्का प्रहार गरे । अर्का ओपनर अर्जुन कुमालले २५ बलमा ३९ रन बनाए । अनिल गुरुङ ‘प्लेयर अफ द म्याच’ घोषित भए ।

प्रतियोगिताको समुह ‘बी’ मा कास्की ४ अंकसहित शीर्ष स्थानमा छ भने पर्वत र नवलपुर २–२ अंकसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। गोरखा अंकविहीन रहेको छ । प्रतियोगिताका संयोजक ऋषीराम गौतमका अनुसार भोली हुने खेलबाट फाइनल प्रवेश गर्ने टिमको टुंगो लाग्नेछ । पहिलो खेल गोरखा र पर्वतबीच तथा दोस्रो खेल कास्की र नवलपुरबीच हुनेछ ।

प्रकाशित मिति २०८२ असार ४ गते बुधबार ०७:५४
हजुरको प्रतिक्रिया