काठमाडौं ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले हरित अर्थतन्त्रको प्रवर्द्धनमार्फत नेपालले आर्थिक वृद्धिको बाटोमा रहेका चुनौतीहरूको सामना गर्नसक्ने बताएका छन्।
काठमाडौंमा बिहीवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले उच्च र दिगो आर्थिक वृद्धि, रोजगारी सिर्जना, गुणस्तरीय मानव पुँजी विकास, हरित अर्थतन्त्रको प्रवर्द्धन, सामाजिक समावेशीकरण एवं लगानी तथा व्यापार प्रवर्द्धनको माध्यमबाट नेपालले आर्थिक वृद्धिको बाटोमा रहेका चुनौतीहरूको सामना गर्नसक्ने बताए।
यसका लागि सरकार, निजी क्षेत्र, सहकारी, गैरसरकारी तथा सामाजिक संघ संस्था, विकास साझेदार बीचको सहयोग र सहकार्य अझ घनिष्ठ बनाउनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ। विपद् तथा जलवायु परिवर्तनको असरबाट नागरिक र अर्थतन्त्रको उत्थानशिलता विकास गर्नु नेपालको लागि चुनौतीपूर्ण विषय बनेको समेत बताए।
उनले अन्तर्राष्ट्रिय व्यापारलाई दिगो बनाउन नेपालको निर्यात क्षमता वृद्धि गर्न आवश्यक रहेको बताए। यसका लागि उत्पादन तथा उत्पादकत्व वृद्धि, व्यापारको देशगत र वस्तुगत विविधिकरण, भौतिक सम्पति संरक्षण र प्रवर्द्धन, दुई पक्षीय तथा बहुपक्षीय व्यापार सम्झौता एवं प्रभावकारी कार्यान्वयनमा जोड दिनु आवश्यक रहेको उल्लेख गरे।
उपप्रधानमन्त्री पौडेलले नेपालले कार्यान्वयनमा प्राथमिकता दिएको दिगो विकासको लक्ष्य हासिल गर्ने, हरित अर्थतन्त्र विकास गर्ने, जलवायु सम्बन्धी विश्वव्यापी कोषहरूमा पहुँच कायम गर्दै उत्थानशिलता विकास गर्नुपर्नेमा जोड दिनुपर्ने आवश्यकता औंल्याए। यसका लागि आवश्यक पर्ने उच्च लागत र प्राविधिक दक्षताको लागि नेपाललाई विकास साझेदार र विश्व समुदायको सहयोग र साझेदारी पनि उत्तिकै आवश्यक रहेको बताए।
प्रकाशित मिति २०८२ असार ५ गते बिहीबार १२:५४




