पोखरा ।
गण्डकी प्रदेशस्तरीय टि–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि नवलपुर र स्याङजा भिड्ने भएका छन् ।
समूह ‘ए’ बाट स्याङजा र समूह ‘बी’ बाट नवलपुर विजेता बन्दै फाइनल प्रवेश गरेका हुन् । समूह ‘बी’ अन्तर्गत नवलपुर, कास्की र पर्वतले समान २–२ जितसहित ४–४ अंक प्राप्त गरे पनि रन रेटको आधारमा नवलपुर शीर्ष स्थानमा रहँदै फाइनलमा प्रवेश गर्न सफल भयो ।
फाइनलमा स्थान सुरक्षित गर्न नवलपुरले बिहीबार घरेलु टोली कास्कीलाई ५ विकेटले पराजित गरेको थियो । कास्कीले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १४८ रनको योगफल तयार गर्यो । कास्कीका लागि मुस्कान थापाले ३६, रोहित चन्दले ३५ र कप्तान सुवास भण्डारीले अविजित ३७ रनको योगदान दिए ।
नवलपुरका काशिस सुवेदी र हिमाल न्यौपानेले २–२ तथा सुदीप अर्यालले १ विकेट लिए । १४९ रनको लक्ष्य पछ्याएको नवलपुरले १५ ओभरमै ५ विकेट गुमाएर १५४ रन बनाउँदै सहज जित हात पारेको हो ।
नवलपुरका लागि अपराजित पौडेलले २० बलमा ३ चौका र ३ छक्कासहित अविजित ३३ रन बनाए । रिजन काफ्लेले ३७, सुदीप अर्यालले २१ र कमल परियारले १७ रन जोडे । बलिङतर्फ कास्कीका कृष्ण पौडेलले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा ४ विकेट लिए । खेलमा अपराजित पौडेल ‘प्लेयर अफ द म्याच’ घोषित भए ।
यसैबीच, प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा पर्वतले गोरखालाई ४९ रनले पराजित गर्दै सान्त्वना जित हात पारेको छ । टस जितेर पहिले ब्याटिङ गरेको पर्वतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४८ रन बनायो । गोरखाका स्वरुपराज श्रेष्ठले ४ ओभरमा २२ रन खर्चेर ४ विकेट लिए ।
जवाफमा गोरखा १७ ओभरमै ९९ रनमै समेटिएको थियो। गोरखाका युनिश थापाले २२ र रुपेश बस्यालले १६ रन बनाए । प्रतियोगिताको फाइनल खेल शुक्रबार पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा हुने संयोजक ऋषीराम गौतमले जानकारी दिए ।
प्रकाशित मिति २०८२ असार ५ गते बिहीबार ०८:०२




