काठमाडौं ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भिजिट भिसाको नाममा भइरहेको मानव तस्करीजस्तो गम्भीर अपराधको समाधान गर्न सरकार गम्भीर हुनुपर्ने बताएका छन् ।
बिहीबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद सुवालले दोषी उम्कन नहुने भन्दै यस विषयमा निष्पक्ष छानविनको माग गरे ।
उनले भिजिट भिसा प्रकरणमा सबै पार्टीका गृहमन्त्री जोडिएको हुनाले सत्तापक्ष र प्रतिपक्ष छानविनका लागि तयार नभएको हुनसक्ने आशंका पनि व्यक्त गरे ।
भिजिट भिसा लगायतका मुलुकमा विद्यमान समस्याको समाधानका लागि जनता जागरुक हुनुको विकल्प नरहेको उनको भनाइ थियो ।
उनले भने, ‘भिजिट भिसा प्रकरणमा सबै पार्टीको गृहमन्त्रीहरु परेको देखियो । तर दोषिलाई त उम्कन दिन नहुने हो । तर सबै पार्टीबाट गृहमन्त्री भएको समयमै यस्तो भएको हुँदा पनि छानविन गर्न तयार नभएका हुन् कि । यसको समाधानका लागि जनता सचेत हुनुको विकल्प छैन ।’
सरकारले संसदमा विपक्षीलाई पेलेर अघि बढ्ने कार्य सोभनीय नभएको समेत उनको टिप्पणी छ ।
प्रकाशित मिति २०८२ असार ६ गते शुक्रबार ०९:१०