२०८३ साउन २१ गते बिहीबार

म्याग्दी भलिबल कप शुरु : म्याग्दी, तनहुँ, स्याङ्जा र बागलुङको विजय

म्याग्दी भलिबल कप शुरु : म्याग्दी, तनहुँ, स्याङ्जा र बागलुङको विजय

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार ८ गते आइतबार ०८:१९

म्याग्दी । म्याग्दीको बेनीमा आइतबारदेखि दुई लाख पुरस्कारको गण्डकी प्रदेशस्तरीय अन्तर जिल्ला पुरुष भलिबल प्रतियोगिता “म्याग्दी भलिबल कप–२०८२” शुरु भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको प्रवद्र्धन तथा जिल्ला खेलकुद विकास समिति...

म्याग्दी ।

म्याग्दीको बेनीमा आइतबारदेखि दुई लाख पुरस्कारको गण्डकी प्रदेशस्तरीय अन्तर जिल्ला पुरुष भलिबल प्रतियोगिता “म्याग्दी भलिबल कप–२०८२” शुरु भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको प्रवद्र्धन तथा जिल्ला खेलकुद विकास समिति म्याग्दीको सहकार्यमा म्याग्दी जिल्ला भलिबल संघ म्याग्दीले आयोजना गरेको प्रतियोगितामा आठ जिल्ला सहभागी छन् ।

आयोजक म्याग्दीसहित मुस्ताङ, बागलुङ, पर्वत, कास्की, तनहुँ, स्याङ्जा र नवलपुर जिल्लाको सहभागिता रहेको प्रतियोगिता लिग प्रणालीमा खेलाइने म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाले जानकारी दिए ।
असार ११ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विजेताले नगद दुई लाख, उपविजेताले नगद एक लाख तथा तेस्रो हुने टिमले नगद ५० हजार तथा चौथो हुने टिमले नगद २५ हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र हात पार्ने अध्यक्ष बाँनियाले बताए ।

त्यस्तै प्रतियोगितामा उत्कृष्ट प्रशिक्षक र सर्वोत्कृष्ट खेलाडीलाई जनही नगद रु पाँच–पाँच हजार तथा अन्य विधागत उत्कृष्ट स्पाइकर, उत्कृष्ट सर्भर, उत्कृष्ट ब्लकर, उत्कृष्ट लिबेरो, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट सेटरले जनही नगद रु तीन–तीन हजारका साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

हरेक टिमका १२ खेलाडी, एक प्रशिक्षक र एक व्यवस्थापक सहित (कुल १४ जना)लाई आयोजनाले आवास, खाना र खाजाको व्यवस्था मिलाएका छन् । महिला भलिबलका राष्ट्रिय टिम क्याप्टेन अरुणा शाही लगायत थुप्रै भलिबल खेलाडीहरुको जन्मथलो म्याग्दीमा भएको प्रतियोगिताले म्याग्दीमा खेलकुदको सम्भावनालाई उजागर गराउने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठले उल्लेख गरे ।

म्याग्दी, तनहुँ, स्याङ्जा र बागलुङ विजयी
प्रतियोगिताको पहिलो दिन चार वटा खेल सकिएको छ । आयोजक म्याग्दी जिल्ला खेलकुद विकास समितिले कास्कीलाई सोझो तीन सेट आफ्नो पक्षमा पार्दै बिजयी सुरुवात गरेको छ ।

स्याङ्जाले नवलपुर लाई पनि सोझो तीन सेटमा पराजित ग¥यो । तनहुँले मुस्ताङलाई एकका विरुद्ध तीन सेटले र बागलुङले पर्वतलाई दुईका विरुद्ध तीन सेटले पराजित गरेको छ । सोमबार स्याङ्जा र कास्की, तनहुँ र पर्वत, म्याग्दी र नवलपुर, बागलुङ र मुस्ताङ बीच प्रतिस्पर्धा हुने खेलतालिका छ ।

दुई जना रेफ्री र तीन खेलाडी सम्मानित
प्रतियोगिताको उद्घाटन समारोहमा पाँच जना खेलाडी र रेफ्रीहरुलाई नगद रु. पाँच हजार सहित म्याग्दी जिल्ला भलिबल संघले सम्मान गरेको छ । रेफ्री टहलसिंग थापा, विकास गुरुङ र गण्डकी प्रदेशको पुरुष भलिबल टिमका क्याप्टेन सन्जु बिक्रम शाहलाई सम्मान गरिएको हो । थापा र शाह स्याङ्जा तथा गुरुङ गोरखाका हुनुहुन्छ ।

म्याग्दीको मालिका गाउँपालिका–२ रुमका झमानसिंह परियार र शसस्त्र प्रहरी क्लवमा आवद्ध बेनपा –५ का विरन दर्जीलाई पनि सम्मान गरिएको थियो । परियार नेपाल पुलिस क्लव र दर्जी शसस्त्र प्रहरी क्लवको भलिबल टिममा आवद्ध हुनुहुन्छ । भलिबल खेलको विकासमा योगदान गरेकाले सम्मान तथा पुरस्कृत गरेको म्याग्दी जिल्ला भलिबल संघका महासचिव कुमार किसानले बताए ।

बेनीमा भलिबल कवर्डहल बनाउने घोषणा
म्याग्दी जिल्ला भलिबल संघले बेनीमा भलिबल कवर्डहल बनाउने घोषणा गरेको छ । संघका अध्यक्ष तेजेन्द्र बानियाले कवर्डहल बनाउन दुई रोपनी जग्गा खोजीसकेको जानकारी दिए ।

प्रतियोगिताको उद्घाटन समारोहका प्रमुख अतिथि गण्डकी प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जालीले कवर्डहल बनाउने म्याग्दी जिल्ला भलिबल संघको योजनालाई साथ दिने प्रतिवद्धता जनाए ।

“गर्मीमा घामले पोल्ने, झरिमा रुझेर भलिबल खेल्नु र अवलोकन गर्नुपर्ने अवस्थाको अन्त्यका लागि म्याग्दी जिल्ला भलिबल संघको अभियानमा हामीले पनि साथ दिन्छौ,” उहाँले भन्नुभयो “जग्गा व्यवस्थापन गरेपछि भवन बनाउन तीनै तहका जनप्रतिनिधीहरुको तर्फबाट साथ रहन्छ ।”

प्रकाशित मिति २०८२ असार ८ गते आइतबार ०८:१९
हजुरको प्रतिक्रिया