२०८३ साउन २१ गते बिहीबार

स्कटल्याण्डमाथिको जितले टोलीको मनोबल थप बढ्नेछ : कप्तान रोहितकुमार पौडेल

स्कटल्याण्डमाथिको जितले टोलीको मनोबल थप बढ्नेछ : कप्तान रोहितकुमार पौडेल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार ९ गते सोमबार ०९:११

कप्तान रोहितले यी बलिया टोलीविरुद्ध जितले लिग–२ को आगामी शृंखलाका लागि पनि नेपाली टोलीको आत्मबल बढाउने आशा व्यक्त गरेका छन् ।
टी–२० शृंखलामा नेपालले नेदरल्याण्डस्सँग तीनपल्ट सुपर ओभर खेलेको थियो ।
उनले तीनपल्ट सुपर ओभर होला भन्ने कल्पना नगरेको र त्यहाँसम्म पुग्न नन्दन यादवले महत्त्वपूर्ण भूमिको खेलेको बताए ।

पोखरा ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले नेदरल्याण्ड्स र स्कटल्याण्डजस्ता बलिया टोलीविरुद्ध राम्रो प्रदर्शसँगै जित हुनुले आगामी खेलमा टोलीको मनोबल थप बढ्ने बताएका छन् ।

आइतबार स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली टोलीका कप्तान रोहितले नयाँ प्रशिक्षक स्टुआर्ट लको आगमनसँगै थोरै समयमा धेरै सुधार आएको भन्न नसकिने उल्लेख गर्दै टोलीको वातावरण भने राम्रो बनेको उल्लेख गरेका छन् ।

स्कटल्याण्डमा नेपालले आइसिसी विश्वकप लिग–२ को चार खेलमध्ये तीन जित दर्ता गरेको थियो । लिग–२ को अंकतालिकामा कमजोर देखिएको नेपालले यो भ्रमणमा भने सुधारिएको प्रदर्शन गरेको देखिएको थियो ।

तर कप्तान रोहितले छोटो समयमै नयाँ प्रशिक्षकबाट धेरै पक्षमा सुधार आएकाले यो नतिजा सम्भव भएको भन्न नमिल्ने उल्लेख गरे । यद्यपि स्टुआर्ट लले टोलीको वातावरण र माइन्डसेटमा भने सुधार ल्याएको रोहितको भनाइ छ ।

कप्तान रोहितले प्रशिक्षक स्टुआर्ट लले सीधा र सरल तरिकाले प्रशिक्षण गरेको उल्लेख गरे ।

मिटिङभन्दा पनि मैदानमा कसरी जित निकाल्नेतर्फ प्रशिक्षकको ध्यान केन्द्रित हुने गरेको रोहितको भनाइ छ ।

रोहितले यी सफलताको जित भने कोचिङ स्टाफलाई नै दिनुपर्ने बताएका छन् । नेपालले लिग–२ मा जस्तै तीन देश (स्कटल्याण्ड र नेदरल्याण्डस्) सम्मिलित टी–२० शृंखलामा पनि चार खेलमध्ये दुई खेल जितेको थियो ।

नेपालले आइसिसी वरीयतामा आफूभन्दा बलियो टोलीलाई हराउँदै सुधारिएको खेल प्रदर्शन गरेको हो ।

कप्तान रोहितले यी बलिया टोलीविरुद्ध जितले लिग–२ को आगामी शृंखलाका लागि पनि नेपाली टोलीको आत्मबल बढाउने आशा व्यक्त गरेका छन् ।

टी–२० शृंखलामा नेपालले नेदरल्याण्डस्सँग तीनपल्ट सुपर ओभर खेलेको थियो ।

उनले तीनपल्ट सुपर ओभर होला भन्ने कल्पना नगरेको र त्यहाँसम्म पुग्न नन्दन यादवले महत्त्वपूर्ण भूमिको खेलेको बताए ।

सुपर ओभरमा समय लिएर खेल्ने अवस्था नहुने र नतिजा पनि चाहेअनुरूप नआएको उल्लेख गरे ।

तेस्रो सुपर ओभरमा भने सोचेअनुरूप हुन नसकेको उनी बताउँछन् ।

आइसिसी टी–२० विश्वकप एसिया छनोटको तयारीका लागि राम्रो ब्याक अप आवश्यक पर्ने भएकाले यसै टी–२० शृंखलामा सबै खेलाडीलाई अवसर दिएको कप्तान रोहितले बताए ।

त्यस्तै नेपाली टोलीका सदस्य नन्दन यादवले यो भ्रमणअघि केही अभ्यास खेलले पनि राम्रो नतिजा आएको बताए ।

यद्यपि, चारमध्ये एउटा खेलमा केही गल्ती गर्दा नतिजा आफ्नो पक्षमा आउने नसकेको उनको भनाइ छ ।

टी–२० शृंखलामा पनि नेपालले जित्नुपर्ने उनको भनाइ छ तर केही पक्षमा राम्रो हुन नसक्दा नतिजा आउन नसकेको नन्दनले उल्लेख गरे ।

सुपर ओभर हुनुअघि आफूले चौकाको ठाउँमा छक्का हानेको भए नतिजा आफ्नो पक्षमा आउने भए पनि त्यो गर्न असमर्थ भएको उनले बताए ।

प्रकाशित मिति २०८२ असार ९ गते सोमबार ०९:११
हजुरको प्रतिक्रिया