बागलुङ ।
बागलुङको जैमिनी नगरपालिकाले बाँदर आतंक न्युनिकरण गर्न ‘बाँदर बगैचा’ बनाउने भएको छ ।
आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख नरबहादुर पुनले ग्रामीण क्षेत्रमा बाँदर आतंकका कारण किसानले गाउँ छाड्न थालेपछि कम क्षति पु¥याउने फलफुल र मसलाबालीको खेती गरिने बताए ।
नगरपालिकाको वडा नम्बर ८ पुरानो गाउँमा ‘बाँदर बगैँचा’ बनाउने प्रमुख पुनको भनाइ छ । नयाँ आर्थिक वर्षमा कृषिलाई प्राथमिकतामा राखेको नीति तथा कार्यक्रममा उल्लेख छ ।
युवालाई कृषिमा आर्कषण गर्न र कृषकलाई प्रोत्साहन गर्न नगरपालिकाले किसानलाई परिचयपत्र दिने भएको छ ।
पालिकाभरका सबै किसानलाई सूचिकरण गरेर परिचयपत्र दिने प्रमुख पुनले बताए । नगरपालिकाले उत्पादनलाई बजारीकरण गर्नका लागि कृषि एमबुलेन्ससमेत संचालन गर्ने भएको छ ।
दुग्ध उत्पादन बढाउन पशुको निःशुल्क नस्ल सुधार गर्ने, खोप लगाउने, औषधी र अन्य उपचार गराउनेदेखि उत्पादनको बजारीकरण गर्न किसानलाई सघाउने पुनले बताए ।
किसानलाई प्रोत्साहन गर्न बाख्रा जोन बनाउने र दूध उत्पादन बढाउने नगरपालिकाले नीति लिएको छ ।
अण्डा र मासुमा आत्मनिर्भर बनाउने, उत्पादन र बिक्रीमा आधारित अनुदान दिएर काम गर्ने किसान प्रोत्साहन कार्यक्रम ल्याएको प्रमुख पुनले बताए ।
हलगोरु पाल्ने किसानलाई प्रोत्साहन गर्ने, राँगो र बंगुरलाई मासुको बजारीकरणमा जोड्ने, पाडापाडी उत्पादन बढाएर चीनसम्म मासु निर्यात गर्ने नीतिमा उल्लेख छ ।
गत वर्षको ‘सेरा जाऔं, केरा खाऔं’ कार्यक्रमलाई पनि निरन्तरता दिने भएको छ ।
‘छोरी जन्मे घर, खुसीको लहर’ भन्ने मुल नारा सहित संचालन भएको जैमिनीकी छोरी कार्यक्रमलाई निरन्तरता दिने भएको छ । छोरी जन्मेमा जन्मदर्ता गर्दा रु दुई हजार ५०० को खाता खोलिदिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
पालिका भित्रर रहेका घरबारविहीनलाई घर बनाई दिने नगर प्रमुख पुनले बताए । भुसका छाना विस्थापन कार्यक्रमलाई निरन्तरता उनको भनाइ छ ।
सुकुम्बासी समस्या समधानका लागि आवश्यक प्रक्रिया पुरा गरी यसै वर्ष नगरपालिकालाई सुकुम्बासी मुक्त पालिका घोषणा गरिने पुन बताए ।
प्रकाशित मिति २०८२ असार १० गते मंगलबार ०९:३९




