काठमाडौं ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दैलेख जिल्लाको मिथेन ग्याँस उत्खनन कार्य एक वर्षभित्र शुरु गर्नेगरी मन्त्रायले योजना बनाएको बताएका छन् ।
सोमबारको प्रतिनिधि सभाको बैठकमा विनियोजित बजेटमाथिको छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन् ।
उनले दैलेख जिल्लाको जलजलेमा ठूलो परिणाममा तेल ग्याँस अन्वेषणमा धेरैले चासो राखेको बताए ।
यो आयोजना सञ्चालन गर्दा चिनियाँ जियोलोजिक सर्वे कम्पनीको तर्फबाट प्रारम्भिक रिपोर्ट आएको र प्रारम्भिक रिपोर्टले देशलाई नै खुशी बनाएको उनले जिकिर गरे ।
एक वर्षभित्र यसलाई उत्पादन परीक्षण कामलाई अघि बढाउने गरी मन्त्रालयले आवश्यक योजना बनाएको मन्त्री भण्डारीको दाबी छ ।
नेपालको समृद्धिमा खानी, खनिज लगायतका क्षेत्रको विकास गर्नुपर्ने र त्यसको उत्खनन गर्नुपर्ने विषयलाई मन्त्रालयले प्राथमिकताका साथ राखेको उनले उल्लेख गरे ।
उनले भने, ‘दैलेख जिल्लाको जलजलेमा ठूलो परिणाममा तेल ग्याँस अन्वेषणमा धेरै माननीयज्युहरुले खुशी व्यक्त गर्नुभएको छ । यो आयोजना सञ्चालन गर्दा चिनियाँ जियोलोजिक सर्वे कम्पनीको तर्फबाट यसको जुन प्रारम्भिक रिपोर्ट आएको छ । यो प्रारम्भिक रिपोर्टले अत्यन्त उत्साहित बनाएको छ । एक वर्षभित्र यसलाई हामी उत्पादन परीक्षण कामलाई अघि बढाउने गरी मन्त्रालयले आवश्यक योजना बनाएको छ । नेपालको समृद्धिमा खानी, खनिज लगायतका क्षेत्रको विकास गर्नुपर्ने र त्यसको उत्खनन गर्नुपर्ने विषयलाई मन्त्रालयले प्राथमिकताका साथ राखेको छ ।’
सरकारले औद्यागिक पार्कसहितका क्षेत्रमा आवश्यक योजना बनाएर अघि बढेको मन्त्री भण्डारीको भनाइ छ ।
प्रकाशित मिति २०८२ असार १० गते मंगलबार ०९:४०




