काठमाडौं । नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) गुमाउने भएका छन् । यस बर्ष विभिन्न फ्रेन्चाइज गुमाएका सन्दीपले यसपटक भने राष्ट्रिय टिममा व्यस्त रहने भएकाेले सीपीएल गुमाउने भएका हुन् । सीपीएल टी-२० क्रिकेट यही अगष्ट अन्तिमदेखि आयाेजना हुँदैछ ।
सीपीएलमा सन्दीपलाई डिफेन्डिङ च्याम्पियन ट्रिनबागो नाइट राइडर्सले अनुबन्ध गरेको थियो । तर सन्दीप अगष्ट अन्तिममा नेपाली टिमसँग ओमान भ्रमणमा जाने भएकाेले सीपीएल खेल्न नभ्याउने भएका हुन् । सीपीएलले मंगलबार अपडेट गरेकाे टिम लिस्टमा पनि सन्दीपकाे नाम छैन । ट्रिनबागाेले केही दिनअघि यासिर शाहलाई अनुबन्ध गरिसकेकाे छ । सम्भवत उनी सन्दीपकै स्थानमा टिममा अनुबन्ध भएका हुन् ।
आईसीसी विश्वकप लिग २ काे ट्राई सिरिजर त्यसअघि पपुवान्यु गिनी (पिएनजी) सँग हुने दुई खेलका लागि नेपाली टिम अगस्ट अन्तिममा ओमानतर्फ प्रस्थान गर्ने सम्भावना रहेको छ । केही दिन क्वारेन्टिन बस्नुपर्ने भएकाेले नेपाल केही चाँडै जान लागेको हो । नेपालले पिएनजीसँग सेप्टेम्बर ५ र ८ मा खेल्ने पक्का भइसकेकाे छ । यस्तै नेपाल, ओमान र अमेरिका सम्मिलित सिरिज सेप्टेम्बर १३ देखि २० सम्म हुने तय छ ।
सन्दीपले ओमान भ्रमणपछि सेप्टेम्बर २५ तारिखदेखि सुरु हुने चाैथा संस्करणबाे एभरेस्ट प्रिमियर लिग खेल्नेछन् । यसपटक उनी काठमाडौं किंग्स-११ को कप्तानको नियुक्त भएका छन् ।
प्रकाशित मिति २०७८ भदौ २ गते बुधबार ०८:०७




