काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीको मेहनतको अपमान गरिएको भन्दै आपत्ति जनाएका छन् ।
शुक्रवार साँझ प्रकाशित माध्यमिक शिक्षा परीक्षाको नतिजाप्रति केही विद्वानहरुले विद्यार्थीको अपमान हुनेगरी बोलेको भन्दै आपत्ति जनाएका हुन् ।
शनिवारको प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै उनले एसईईको नतिजामा गत वर्षको भन्दा १४ प्रतिशतले वृद्धि भएको र यो सुखद् कार्य रहेको बताए ।
उनले यस्तो नतिजामा पनि केही मानिसहरुले अंक थपेर पास गराइयो भन्दै अपमान गरेको बताए। नयाँ पुस्ताको मेहनतलाई होच्याउने र अपमान गर्ने काम भएको भन्दै दुःख लागेको जिकिर गरे ।
नेपाली विद्यार्थीमा मेहनत गरेर आफ्नो उचाई अघि बढाउनसक्ने खुबी रहेको बताए।
प्रधानमन्त्री ओलीले भने, ‘खुशीको कुरा हो । यस वर्षको एसईईको परीक्षाको नतिजा प्रकाशित भएको छ । एसईईको नतिजामा गत वर्षको भन्दा १४ प्रतिशतले राम्रो नतिजा वृद्धि भएको छ । यस अवसरमा राम्रो नम्बरका साथ उत्तिर्ण हुने विद्यार्थीलाई हार्दिक बधाई भन्न चाहन्छु, उहाँहरुको सफलताको शुभकामना भन्न चाहन्छु । ४८ प्रतिशत भन्दा कमको अवस्थाबाट ६१।८१ प्रतिशतको नतिजा पु¥याउन मेहनत गर्ने विद्यार्थी भाई बहिनीलाई धन्यवाद भन्न चाहन्छु, राम्रो ध्यान दिएर विद्यार्थीलाई पढाउने शिक्षकलाई धन्यवाद भन्न चाहन्छु, उहाँहरुको मेहनत सफल भएको छ ।’
प्रधानमन्त्री ओलीले आगामी वर्ष ६५ देखि ७० प्रतिशत विद्यार्थी उत्तिर्ण हुनेगरी सरकारले आफ्नो योजनाअनुसार अघि बढाउने बताए। विद्यार्थी फेल नहुने परिस्थिति निर्माण गर्नुपर्ने उल्लेख गरे ।
प्रकाशित मिति २०८२ असार १४ गते शनिबार १२:४६




