२०८३ साउन २१ गते बिहीबार

एएफसी महिला एसियन कप छनोट खेल आजदेखि उज्वेकिस्तानमा सुरु हुँदै

एएफसी महिला एसियन कप छनोट खेल आजदेखि उज्वेकिस्तानमा सुरु हुँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार १५ गते आइतबार ०९:३९

एसियन कप छनोट हुने लक्ष्यसहित उज्वेकिस्तान पुगेको नेपालले नयाँ प्रतिद्वन्द्वी लाओससँग खेलेर छनोट यात्रा सुरु गर्नेछ ।
यो नेपाली महिला फुटबल टिमको एक सयौं अन्तराष्ट्रिय खेल पनि हो ।

पोखरा ।

एएफसी महिला एसियन कप छनोट खेल आजदेखि उज्वेकिस्तानमा सुरु हुँदैछ ।

नेपालले आज लाओससँग खेल्दै छनोट खेलको सुरुवात गर्नेछ । खेल नेपाली समय अनुसार साँझ सवा ६ बजे सुरु हुनेछ ।

एसियन कप छनोट हुने लक्ष्यसहित उज्वेकिस्तान पुगेको नेपालले नयाँ प्रतिद्वन्द्वी लाओससँग खेलेर छनोट यात्रा सुरु गर्नेछ ।

यो नेपाली महिला फुटबल टिमको एक सयौं अन्तराष्ट्रिय खेल पनि हो । प्रि–म्याच कन्फरेन्समा सबै टिमले शीर्ष स्थानमा रहने लक्ष्य रहेको उल्लेख गरेका छन् ।

नेपाली टिमका मुख्य प्रशिक्षक प्याट्रिक डी वाइल्डले, प्रतियोगितामा सबैले राम्रो फुटबल खेलुन् भन्ने चाहना रहेको प्रतिक्रिया दिएका छन् ।

उनले आफनो टिम नै समूह विजेता बन्ने विश्वास गर्दै माथिल्लो स्तरको प्रतिस्पर्धाको अपेक्षा गरेका छन् ।

मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले शनिबार नेपाली टोली शारीरिक र मानसिक रूपमा तयार रहेको बताएका छन् ।

सबै चारै टिमले राम्रो तयारी गरेको पनि उनको भनाइ छ । डी वाइल्डको नेपाली महिला टिमको प्रशिक्षकका रुपमा लाओससँगको खेल डेब्यु हुनेछ ।

यस्तै स्टार फरवार्ड सावित्रा भण्डारी साम्बाले पनि हरेक खेल महत्वपूर्ण हुने र पहिलो खेलदेखि नै राम्रो खेल्नुपर्ने बताएकी छन् ।

मिडफिल्डर रेनुका नगरकोटीले पनि नयाँ प्रशिक्षकको अन्डरमा ऐतिहासिक खेल खेल्न उत्साहित रहेको बताएकी छन् ।

महिला फुटबलमा नेपाल र लाओस पहिलोपटक आमनेसामने हुन लागेका हुन् । फिफा वरियताका आधारमा लाओस नेपालभन्दा पछि छ । नेपाल एक सय र लाओस एक सय सातौं स्थानमा छ ।

छनोटमा नेपाल, उज्वेकिस्तान, लाओस र श्रीलङ्का गरी चार टिमको सहभागिता छ । तालिकाको शीर्ष स्थानमा रहने टिम मात्र अर्को वर्ष अस्ट्रेलियामा हुने फाइनल चरणका लागि छनोट हुनेछ ।

पहिलो भए फिफा विश्वकप र ओलम्पिक छनोट खेलको पनि बाटो खुल्नेछ ।

प्रकाशित मिति २०८२ असार १५ गते आइतबार ०९:३९
हजुरको प्रतिक्रिया