२०८३ असोज २५ गते आइतबार

नवलपुरमा बहिरा समुदायलाई लक्षित गर्दै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी तालिम

नवलपुरमा बहिरा समुदायलाई लक्षित गर्दै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी तालिम

राजु सुवेदी कल्पित

@Public 4K Tv

२०८२ असार १५ गते आइतबार ०९:३४

तालिममा बहिरा सहभागीहरूले विपद् सम्बन्धी विषयमा पहिलो पटक यति विस्तृत रूपमा बुझ्न पाएको भन्दै खुसी व्यक्त गरे ।
कार्यक्रममा २०८१ को एसईईमा उत्तीर्ण भएका नवलपुरका दुई बहिरा विद्यार्थीलाई सम्मान गरिएको थियो ।

नवलपुर ।

कावासोतीमा बहिरा समुदायका लागि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी एक दिने तालिम सम्पन्न भएको छ ।

नवलपरासी बहिरा संघको आयोजना र कावासोती नगरपालिकाको सहकार्यमा शनिबार भएको तालिममा जिल्लाभरिबाट ४५ जना बहिरा सहभागी थिए ।

कार्यक्रममा बोल्दै कावासोती नगरपालिकाकी उपप्रमुख तथा प्रमुख अतिथि फूल कुमारी थनेतले नवलपुर जिल्लामा ५ कक्षाभन्दा माथिको बहिरा शिक्षाको व्यवस्था नभएकोले बाध्यतावश अन्य जिल्लामा जानुपर्ने अवस्था रहेको बताइन् ।

बहिरा विद्यार्थीहरूको शिक्षामा पहुँच वृद्धि गर्न सबै स्थानीय तहको साझा पहल आवश्यक रहेको उनको भनाइ थियो ।

तालिममा प्रशिक्षकको भूमिकामा कावासोती नगरपालिकाका आर्किटेक्ट इञ्जिनियर पबन रुपाखेती र प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेलले निर्वाह गरेका थिए ।

प्रशिक्षकद्वयले विपद् के हो, कस्ता खालका विपद् आउन सक्छन्, ती विपद्बाट कसरी जोगिने, पूर्वतयारी कसरी गर्ने भन्ने विषयमा सहभागीलाई व्यावहारिक प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा संस्थापक अध्यक्ष दीपावली शर्माले फरक क्षमता भएका व्यक्तिहरूलाई विपद् पूर्वतयारी र जोखिम न्यूनीकरण सम्बन्धी ज्ञान अत्यन्तै आवश्यक रहेको बताइन् ।

उनले बहिराहरूले समाजमा शिक्षा, अवसर र पहुँचमा ठूलै संघर्ष गर्नुपरेको उल्लेख गर्दै, विपद्को बेला त झनै उनीहरू जोखिममा पर्ने बताउँदै यो तालिमको आयोजना गरिएको बताइन् ।

उनका अनुसार नवलपुर जिल्लामा बहिरा विद्यार्थीका लागि माध्यमिक शिक्षा प्राप्त गर्ने व्यवस्था अझैसम्म छैन । हाल जिल्लामा जम्मा ३ विद्यालयमा ५ कक्षासम्म मात्र अध्यापन हुन्छ ।

यसै कारण यस जिल्लाका बहिरा विद्यार्थी चितवन, गोरखा, पोखरा लगायतका जिल्लामा गएर अध्ययन गर्नुपर्ने बाध्यता रहेको छ ।

त्यस्तै कार्यक्रमकी अध्यक्ष तथा नवलपरासी बहिरा संघकी अध्यक्ष प्रतिमा गुरुङले जिल्लामा दोभाषेको अभावले बहिरा व्यक्तिहरू थप समस्यामा परेको भन्दै नगरपालिकाले दोभाषे उत्पादनमा सहकार्य गर्नुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा चितवनबाट दोभाषेको भूमिकामा सिता पौडेल सहभागी थिइन् । उनले साइन भाषाको माध्यमबाट सहभागी र प्रशिक्षकबीच पुलको काम गरिन् ।

विपद् जोखिम न्यूनीकरण तालिमले बहिरा समुदायलाई सुरक्षित बनाउने, उनीहरुको अधिकार सुनिश्चित गर्न सहयोग पु¥याउने तथा समाजमा उनीहरूको सहभागिता अभिवृद्धि गराउने इञ्जिनियर तथा प्रशिक्षक पबन रुपाखेतीले बताए ।

यस्ता कार्यक्रमले बहिरा व्यक्तिहरूले भोगिरहेका सामाजिक चुनौतीहरूमा सरकार र समुदायको ध्यानाकर्षण गराउन पनि सहयोग पु¥याउने अपेक्षा उनले व्यक्त गरे ।

तालिममा बहिरा सहभागीहरूले विपद् सम्बन्धी विषयमा पहिलो पटक यति विस्तृत रूपमा बुझ्न पाएको भन्दै खुसी व्यक्त गरे ।

कार्यक्रममा २०८१ को एसईईमा उत्तीर्ण भएका नवलपुरका दुई बहिरा विद्यार्थीलाई सम्मान गरिएको थियो ।

एसईई उत्तीर्ण बहिरा विद्यार्थीमध्ये मध्यबिन्दु चोरमाराकी कविता कुमाल र कावासोती–३ का क्षितिज विकलाई सम्मान गरिएको हो ।

नवलपुरमा बहिराहरूका लागि माध्यमिक तहको विद्यालय नहुँदा उनीहरू गोरखा स्थित मनकामना बहिरा आवासीय माध्यमिक विद्यालयमा अध्ययनरत छन् ।

प्रकाशित मिति २०८२ असार १५ गते आइतबार ०९:३४
हजुरको प्रतिक्रिया