पोखरा
गण्डकी प्रदेशस्तरीय दोस्रो महिला टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा सुरु भएको प्रतियोगिताको पहिलो दिन कास्की र नवलपुरले विजयी सुरुआत गरेका छन् । कास्कीले डिफेन्डीङ च्याम्पियन स्याङ्जा र नवलपुरले पर्वतलाई हराएको हो ।
पहिलो खेलमा कास्कीले स्याङ्जालाई ४ रनले हराएको छ । ९६ रनको विजयी लक्ष्य पाएको स्याङ्जालाई ९१ रनमा समेट्दै कास्कीले पहिलो जित हासिल गरेको हो । स्याङ्जाका लागि सिमाना केसी र कुशुम गोदारले बाहेक अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् । सिमानाले ३१ र कुशुमले १७ रन बनाए । बलिङमा कास्कीको लागि सुशिला डिम्टुक र चन्द्रमाया बरालले समान २÷२ तथा रचना चौधरी, यशोदा भुजेल र रिया तामाङले १÷१ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङ गरेको कास्कीले २० ओभरमा ५ विकेट गुमाउँदै ९५ रनका बनाएको थियो । रेखा तामाङले ३३ रनको उत्कृष्ट पारी खेल्दै अविजित रहिन् । सिर्जना पौडेलले ३५ रनको योगदान दिइन् । स्याङ्जाका लागि सिमाना केसीले ४ ओभरमा १४ रन खर्चदै सर्वाधिक ३ विकेट लिइन् ।
दोस्रो खेलमा नवलपुरले पर्वतमाथि ४६ रनको जित हासिल गरेको छ । ७७ रनको विजयी लक्ष्य पाएको पर्वत ९.५ ओभरमा ३० रनमै समेटियो । पर्वतका लागि कुनैपनि ब्याटरले दाहोरो अंक जोड्न सकेनन् । नवलपुरका लागि आयुषा चापागाईँँले सर्वाधिक ५ विकेट लिइन् । उनी खेलको प्लेयर अफ दी म्याच घोषित भइन् ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको नवलपुर १५.४ ओभरमा ७६ रनमा अलआउट हुन पुगेको थियो । धनकुमारी क्षेत्रीले सर्वाधिक ३२ रनको योगदान दिइन् । पर्वतका लागि प्रतिभा खड्का र कृषा अखेलीले समान २÷२ तथा अनुसा पौडेल, जविका क्षेत्री र सुशिलाा भट्टराईले १÷१ विकेट लिइन् । तीन दिनसम्म चल्ने प्रतियोगितामा कुल चार जिल्लाको सहभागिता रहेको छ ।
प्रकाशित मिति २०८२ असार १८ गते बुधबार ०८:३३




