पोखरा
पोखराको नदीपुरमा असार २४ देखि २८ गतेसम्म तेस्रो संस्करणको क्लब स्तरीय पुरुष तथा भेट्रान्स भलिबल प्रतियोगिता हुने भएको छ ।
लामा अमृत फाउण्डेशन घान्द्रुकको आयोजनामा पोखरा–३ नदीपुर छन्त्याल समाजको भलिबल कोर्टमा हुने उक्त प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा क्लब स्तरीय पुरुष तथा भेट्रान्स गरी दुई इभेन्टमा प्रतिष्पर्धा हुने लामा अमृत फाउण्डेशन घान्द्रुकका संस्थापक अमृत गुरुङले जानकारी दिए ।
पुरुषतर्फ प्रतियोगिताको विजेताले १ लाख २५ हजार र उपविजेताले ७५ हजारसहित मेडल, प्रमाणपत्र र ट्रफी पाउनेछन् । तेस्रो हुने टोलीले ३० हजार र सान्त्वना हुने टोलीले १५ हजार प्राप्त गर्नेछन् । भेट्रान्सतर्फको विजेतालाई ५० हजार र उपविजेतालाई २५ हजार प्रदान गरिनेछ । सर्वाेत्कृष्ट र विधागतर्फ उत्कृष्ट हुने खेलाडीलाई समेत उचित पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागी हुन एक टिममा सातौं, आठौं र नवौं राष्ट्रिय खेलकुद तथा राष्ट्रिय भलिबल टिमका अधिकतम ३ जना खेलाडी समावेश गर्न पाइने छ । यस्तै भेट्रान्स भलिबलमा ३८ वर्ष उमेर पुरा भएको खेलाडी मात्र समावेश गर्न पाइने फाउण्डेसनका अध्यक्ष गुरुङले बताए ।
फाउण्डेशनले २०७५ र ०७६ सालमा पहिलो र दोस्रो संस्करणको प्रतियोगिता सञ्चालन गरेको थियो । प्रतियोगितामा सहभागिताका लागि एक टिमलाई ५ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । प्रतियोगिताको पहिलो दिन दर्शकलाई निशुल्क प्रवेश रहेपनि दोस्रो दिन देखि टिकटको व्यवस्था रहेको आयोजकले जनाएको छ । प्रतियोगितासँगै विविध सांस्कृतिक कार्यक्रमहरु समेत हुनेछ ।
प्रकाशित मिति २०८२ असार १८ गते बुधबार ०८:३६




