२०८३ साउन २१ गते बिहीबार

पोखरामा सुनचाँदी व्यवसायीहरुको प्रदर्शन

पोखरामा सुनचाँदी व्यवसायीहरुको प्रदर्शन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार २० गते शुक्रबार ०१:२४

पोखरा, २० असार । आगामी आर्थिक वर्षको बजेटमा सरकारले सुनचाँदीमा लगाइएको ‘विलासी कर’ विरुद्ध शुक्रबार पोखरामा सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले प्रदर्शन गरेका छन् । सुनचाँदी व्यवसायीहरूले ‘हेलो सरकार, सुनका कुरा सुन,...

पोखरा, २० असार ।

आगामी आर्थिक वर्षको बजेटमा सरकारले सुनचाँदीमा लगाइएको ‘विलासी कर’ विरुद्ध शुक्रबार पोखरामा सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले प्रदर्शन गरेका छन् ।

सुनचाँदी व्यवसायीहरूले ‘हेलो सरकार, सुनका कुरा सुन, हिरा–जुवाहरत पत्थरमा लगाएको १३ प्रतिशत भ्याट खारेज गर, सुनको भन्सार ६ प्रतिशत कायम गर, उच्च कर हटाउ, व्यापार बचाउ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

गण्डकी प्रदेशका ११ वटै जिल्लाबाट पोखरामा आएका व्यवसायीले नाराबाजी गर्दै सरकारको निर्णयको विरोध जनाएको नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी महासंघ गण्डकीका अध्यक्ष रामबहादुर विकले बताए ।

पोखराको पृथ्वीचोकबाट सुरु भएको विरोध ¥याली सभागृहचोक, न्युरोड, चिप्लेढुङ्गा मानवअधिकार चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले सरकारसँग वार्ता गरी सुनचाँदीमाथिको २ प्रतिशत ‘विलासी कर’ हटाउन माग गरेको छ । उनीहरूले माग पूरा नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

सरकारले बजेटमार्फत सुन, चाँदी, हिरा, र अन्य बहुमूल्य पत्थरहरूलाई विलासी वस्तुमा राखेर तिनमा १३ प्रतिशतसम्मको मूल्य अभिवृद्धि कर (भ्याट) र अन्य शुल्कहरू लगाउने प्रस्ताव गरेको थियो । यही निर्णयको विरोधमा व्यवसायीहरू सडकमा उत्रिएका हुन् ।

असार १३ गतेबाट सटर नै बन्द गर्दा समेत सरकारले कुरा नसुनेको नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी महासंघ गण्डकीका सचिव भुवन लोहनीले जानकारी दिए ।

प्रकाशित मिति २०८२ असार २० गते शुक्रबार ०१:२४
हजुरको प्रतिक्रिया