पोखरा
पोखरामा जारी गण्डकी प्रदेश दोस्रो महिला टी२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि कास्की र स्याङजा खेल्ने भएका छन् ।
प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा जारी प्रतियोगितामा कास्की समूह विजेता तथा स्याङ्जा उपविजेता बन्दै फाइनलमा स्थान पक्का गरेका हुन् ।
स्याङ्जाले नवलपुरलाई ८ विकेटले हराउँदै फाइनलको यात्रा तय गरेको हो । ५७ रनको सामान्य लक्ष्य स्याङ्जाले ८ ओभर ४ बलमा २ विकेट गुमाउँदै पुरा ग¥यो । स्याङ्जाका लागि सलिना सेनले २३ र श्रेया शाहले १४ रनको योगदान दिए । नवलपुरका लागि आयुषा चापागाईँ र लिजा गुरुङले समान १/१ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नवलपुर १५.३ ओभरमा ५६ रनमा समेटिएको थियो । नवलपुरका लागि धनकुमारी क्षेत्रीले बाहेक अन्य ब्याटरले दोहोरो अंक बटुल्न सकेनन् । उनले १७ रन बनाइन् । स्याङजाका लागि सिमाना केसीले सर्वाधिक ४ विकेट लिइन् । आकृति तिवारी, निरु जिटी र अपेक्षा बुढाथोकीले समान २/२ विकेट लिइन् ।
आजै भएको अन्तिम खेलमा कास्कीले पर्वतलाई ९५ रनले हराएको छ । १२४ रनको लक्ष्य पाएको पर्वतलाई कास्कीले २८ रनमा रोक्यो । पर्वतका कुनै पनि ब्याटरले दाहोरो अंक जोड्न सकेनन् । कास्कीका लागि सोनिमा पुन मगरले ३, यशोदा भुजेलले २ तथा रोजि परियार, चन्द्रमाया बराल, रेखा तामाङ र रचना चौधरीले १/१ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको कास्कीले २० ओभरमा ५ विकेट गुमाउँदै १२३ रन बनाएको थियो । कास्कीका लागि सिर्जना पौडेलले ४१ रनको योगदान दिइन् । पवर्तका लागि जिविका क्षेत्रीले सर्वाधिक ३ विकेट लिइन् । प्रतिभा खड्का र सुशिला भट्टराईले समान १/१ विकेट लिइन् ।
प्रकाशित मिति २०८२ असार २० गते शुक्रबार ०६:५९




