लमजुङ ।
लमजुङको सुन्दरबजार नगरपालिका–२ परेवाडाँडालाई गण्डकी प्रदेशकै पहिलो बालमैत्री तथा पोषणमैत्री स्थानीय शासनयुक्त वडाका रूपमा घोषणा गरिएको छ ।
‘सुन्दरबजार नगरको शान–बालमैत्री तथा पोषणमैत्री नगर हाम्रो अभियान’ भन्ने नाराका साथ शुक्रबार एक समारोहकाबीच सुन्दरबजार नगरप्रमुख कृष्णप्रसाद कोइरालाले परेवाडाँडालाई प्रदेशकै पहिलो बालमैत्री तथा पोषणमैत्री वडा घोषणा गरेका हुन् ।
सो अवसरमा उनले बालबालिका र आमाको अधिकार, पोषण, शिक्षा तथा स्वास्थ्यको सुनिश्चितताका लागि सबै सरोकारवालाबीच सहकार्य र समन्वय अपरिहार्य रहेको बताए ।
नगरप्रमुख कोइरालाका अनुसार जिल्लामा अन्य वडाहरू बालमैत्री घोषणा भइसकेका भए पनि परेवाडाँडा भने बालमैत्री र पोषणमैत्री दुवै सूचक पुरा गरेर घोषणा हुने गण्डकीकै पहिलो वडा बनेको हो ।
त्यस्तै वडा अध्यक्ष नविनकुमार श्रेष्ठले बालमैत्री स्थानीय शासन घोषणाका लागि आवश्यक ५१ वटा सूचकहरू र पोषणमैत्री घोषणाका लागि ३४ वटा सूचकहरू पूरा गरिएको जानकारी दिए ।
उनका अनुसार पाँच वर्षमुनिका बालबालिकाको जन्मदर्ता दर १०० प्रतिशत पुगेको, सबै विद्यालय उमेरका बालबालिका विद्यालयमा भर्ना भएको, बालविवाह तथा बालश्रम नगन्य रहेको, पूर्ण खोप सुनिश्चित भएको, पोषणयुक्त दिवा खाजा, छात्रवृत्ति वितरण, बालमैत्री कक्षाकोठा लगायतका प्रयासले यो सम्भव भएको हो ।
स्वास्थ्य चौकीमार्फत नियमित मातृ तथा शिशु सेवा, किशोरी लक्षित महिनावारी शिक्षा कार्यक्रम, पोषण अवस्था मूल्यांकन, पोषण शिक्षा तालिम, विद्यालय पोषण बगैंचा, स्वच्छता अभियानलगायतका कामले पोषणमैत्री तहको मार्ग प्रशस्त गरेको वडा कार्यालयको भनाइ छ ।
बालमैत्री तथा पोषणमैत्री घोषणा प्रक्रियामा ग्रामीण सामुदायिक विकास केन्द्र (आरसीडीसी) र वल्र्ड भिजनको महत्वपूर्ण प्राविधिक तथा समन्वयात्मक सहयोग रहँदै आएको थियो ।
समारोह सुरु हुनु अघि पालिका र वडाका जनप्रतिनिधि, कर्मचारी, आमा समूह, बाल क्लब, शिक्षक, स्थानीय बासिन्दा लगायतको सहभागितामा बाजागाजा र झाँकी सहित वडा कार्यालयदेखि भगेरथानसम्म र्याली निकालिएको थियो ।
कार्यक्रममा सुन्दरबजार नगरपालिका प्रशासनिक अधिकृत रमेश घर्ति, विषयगत शाखा प्रमुख तथा कर्मचारीहरू, सबै वडाका अध्यक्षहरू, कार्यपालिका सदस्य, वडा सदस्य, आरसीडीसीका अध्यक्ष राजेन्द्र बोहरा, वल्र्ड भिजन लमजुङका
जिल्ला संयोजक शुक्रराज गुरुङ, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, आमा समूह, शिक्षक, विद्यार्थी, सञ्चारकर्मी लगायतको उपस्थिति थियो ।
बालमैत्री तथा पोषणमैत्री स्थानीय शासन प्रवद्र्धनका लागि जस्तोसुकै परिस्थितिमा पनि निरन्तर लागिरहने प्रतिवद्धतासहित सबै सरोकारवालाले संयुक्त हस्ताक्षर गरेका छन् ।
कार्यक्रमको सहजीकरण नगर बाल सञ्जालका सदस्यहरू – विद्या ज्योती माविको कक्षा ८ मा अध्ययनरत अनुपम गौली र कान्ति मन्दिर माविको कक्षा १० मा अध्ययनरत सुभेच्छा परियारले गरेका थिए ।
यस घोषणासँगै वडा नं २ ले बालअधिकार तथा पोषणका क्षेत्रमा उदाहरणीय सफलता हात पारेको छ । स्थानीय सरकारको यो कदमले समग्र नगरपालिकामा बालबालिका र आमाको जीवनस्तरमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।
प्रकाशित मिति २०८२ असार २१ गते शनिबार ०९:३१




