पोखरा ।
चीनबाट आएको बाढीमा परेर रसुवामा कम्तिमा १८ जना बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा ९ नेपाली नागरिक, ८ चिनियाँ नागरिक र तीन जना प्रहरी रहेका छन् ।
एक जना प्रहरीले नदीको बीचमा सुरक्षित रहेको भन्दै सम्पर्क गरेको बताएका छन् ।
यसबाहेक नदीको बीचमा फसेका ९ जनाको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको छ । अन्यको पनि खोजी कार्य जारी रहेको जनाइएको छ ।
सोमबार राति आएको बाढीले रसुवागडी हाइड्रोपावर, भन्सारसहितका स्थानमा क्षति गरेको छ ।
बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएपछि चीनसँगको सम्पर्क टुटेको छ । बाढीले रसुवाको गोसाईकुण्ड गाउँपालिका रसुवागढीस्थित नेपाल–चीन जोड्ने मितेरीपुल बगाएको हो ।
त्यसैगरी, टिमुरेस्थित सुख्खा बन्दरगाहमा पसेको बाढीले मालबाहक कन्टेनरसहित भन्सारमा राखिएका धेरै समान बगाएको भन्सार कार्यालयले जनाएको छ ।
अहिले रसुवा नाका अस्तव्यस्त रहेको छ । बाढीले कति क्षति भयो भन्ने यकिन गर्न अहिले मुश्किल रहेको प्रहरीले जनाएको छ ।
प्रशासनले सतर्कता अपनाउन आग्रह गर्दै भनेको छ– राती चीनबाट रसुवागढी नाका भई बग्ने भोटेकोशी नदीमा ठूलो मात्रामा बाढी आई नदीको सतह बढ्न गएकाले प्रभावित क्षेत्रमा बसोबास गर्ने सम्पूर्णमा आवश्यक सजगताका लागि अनुरोध गरिन्छ । साथै, उद्धार कार्यमा स्थानीय प्रशासन तदारुकताका साथ कृयाशील रहेको समेत जानकारी गराईन्छ ।
सुख्खा बन्दरगाहका ७ वटा इभी गाडी समेत बगेका छन् । अहिले प्रभावित स्थानमा खोज तथा उद्धार कार्य जारी रसुवा प्रशासनले जनाएको छ ।
प्रकाशित मिति २०८२ असार २४ गते मंगलबार ०८:३३




