२०८३ साउन २१ गते बिहीबार

रसुवामा बाढी: हिमताल विस्फोट हुनसक्ने अनुमान

रसुवामा बाढी: हिमताल विस्फोट हुनसक्ने अनुमान

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार २४ गते मंगलबार ०१:४१

काठमाण्डौ । रसुवामा रहेको नेपाल–चीन सीमामा बग्ने लेन्डेखोलामा आएको बाढीका कारण कम्तीमा १८ जना बेपत्ता भएका छन् । हराउनेमध्ये नेपाल प्रहरीका तीन जना, तीन जना गाडी चालक, ६ जना नेपाली कामदार र ६ जना चिनियाँ नागरिक रहेका रसुवाका...

काठमाण्डौ ।

रसुवामा रहेको नेपाल–चीन सीमामा बग्ने लेन्डेखोलामा आएको बाढीका कारण कम्तीमा १८ जना बेपत्ता भएका छन् ।

हराउनेमध्ये नेपाल प्रहरीका तीन जना, तीन जना गाडी चालक, ६ जना नेपाली कामदार र ६ जना चिनियाँ नागरिक रहेका रसुवाका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए ।

बाढीले दुई देश जोड्ने मितेरी पुल बगाएको छ । बाढीले रसुवागढी भन्सार कार्यालय आसपासमा रहेका मालवाहक कन्टेनरहरू र अरू गाडीहरू पनि बगाएको छ । रसुवाको स्याफ्रुबेँसीदेखि रसुवागढी नाकासम्मको सडक बन्द भएको छ ।

त्यस्तै रसुवा जलविद्युत् आयोजनाको बाँधमा आंशिक क्षति पुगेको छ । बाढीका कारण विद्युतीय गाडीको चार्जिङ स्टेशनमा क्षति भएको र सात–आठ वटा गाडी बगाएको, भन्सार कार्यालय रसुवा र रसुवागढी जलविद्युत् आयोजनाको बाँधमा पनि क्षति भएको प्रहरीले जनाएको छ ।

बाढीको प्रभाव नुवाकोटमा समेत परेको छ । लेन्डेखोलामा पानीको सतह विस्तारै घट्न थालेको प्रहरीले जनाएको छ । बाढीमा फसेकाहरूलाई नेपाली सेनाको हेलिकप्टरले उद्धार गरेको छ ।

प्रभावित मानिसहरूलाई रसुवाको टिमुरेबाट निजी हवाई सेवा प्रदायक कम्पनीहरूले पनि उद्धार गरेका छन् । उद्धारका लागि पालिका सरकार, नेपाल प्रहरी र सशस्त्र प्रहरीका टोलीहरू खटेका छन् ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार तिब्बत क्षेत्रबाट एक्कासी ठूलो बाढी प्रवेश गरेको हो । त्यो बाढी वर्षाका कारण नभई हिमताल विस्फोटका कारण उत्पन्न भएको हुनसक्ने महाशाखाको अनुमान छ ।

महाशाखाका अनुसार विश्व मौसम सङ्गठनको ुफ्ल्याश फ्लड गाइडन्स सिस्टमको ग्लोबल हाइड्रोएस्टिमेटर स्याटलाइट–बेस्ड प्रिसिपिटेशन एस्टिमेट्सले भोटेकोशी जलाधार क्षेत्रमा विगत २४ घण्टामा वर्षा भएको देखाउँदैन ।

महाशाखाले विज्ञप्त निकालेर बाढीको सम्भावित कारण पत्ता लगाउन सेन्टिनल एशिया प्ल्याट्फर्ममा तत्कालको भू–उपग्रह तस्वीर प्राप्त गर्न इमर्जेन्सी अब्जर्भेशन रिक्वेस्ट (ईओआर) जारी गरेको जनाएको छ ।

प्रकाशित मिति २०८२ असार २४ गते मंगलबार ०१:४१
हजुरको प्रतिक्रिया