२०८३ साउन २१ गते बिहीबार

सिमलताल घटनाको आज एक वर्ष पूरा: ३९ जना यात्रु अझै भेटिएनन्

सिमलताल घटनाको आज एक वर्ष पूरा: ३९ जना यात्रु अझै भेटिएनन्

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार २८ गते शनिबार ०१:११

चितवन । एक वर्ष पुग्दा पनि चितवनको भरतपुर महानगरपालिका २९ सिमलतालबाट त्रिशूलीमा खसेका बसका ३९ जना यात्रु अझै भेटिएका छैनन् । गएको वर्षको असार २८ गते राति दुई वटा बस एकै ठाउँबाट पहिरोसँगै त्रिशूलीमा खसेका बसका यात्रुमध्ये ३९...

चितवन ।

एक वर्ष पुग्दा पनि चितवनको भरतपुर महानगरपालिका २९ सिमलतालबाट त्रिशूलीमा खसेका बसका ३९ जना यात्रु अझै भेटिएका छैनन् ।

गएको वर्षको असार २८ गते राति दुई वटा बस एकै ठाउँबाट पहिरोसँगै त्रिशूलीमा खसेका बसका यात्रुमध्ये ३९ जना अझै बेपत्ता भएका छन् ।

नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा दुई बसमा ६२ जना यात्रु थिए । तीमध्ये तीन जना जीवित, २० जनाको शव भेटिएको थियो भने बाँकी अझै बेपत्ता छन् । दुवै बस अहिलेसम्म भेटिएको छैन ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार बा प्र ०३–००६ ख १५१६ नम्बरको एञ्जल्स डिलक्स बसमा २६ जना यात्रु थिए । तीमध्ये १० जना मृत फेला परेका थिए भने १६ जना अझै बेपत्ता रहेका छन् ।

बसमा सात जना भारतीय यात्रु सवार रहेका थिए । तीमध्ये दुई जना मृत फेला परेका थिए भने बाँकी पाँच जना भारतीय नागरिक अझै बेपत्ता छन् ।

त्यस्तै बा प्र ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्समा ३६ जना यात्रु रहेका थिए । तीमध्ये तीन जना जीवित, १० जनाको शव फेला परेको र २३ जना अझै बेपत्ता रहेको उनले जानकारी दिए । तीमध्ये भारतीय चार जना थिए । तीन जना मृत फेला परेका थिए भने एक जना बेपत्ता छन् ।

घटनाको विस्तृत अध्ययनका लागि गृह मन्त्रालयले तत्काल सहसचिव छवि रिजालको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । गृहमन्त्री रमेश लेखकले आफ्नो पहिलो निर्णय कार्यदल गठनमा हस्ताक्षर गरेका थिए ।

सो कार्यदलले प्रतिवेदन पेश गर्दै विपद् व्यवस्थापनलगायत सवारी दुर्घटना न्यूनीकरणको प्रभावकारी व्यवस्थापनका लागि सरोकारवाला निकाय जिम्मेवारीका साथ पहल गर्नुपर्नेमा राय समेत दिएको थियो ।

कार्यदलको प्रतिवेदन बुझ्दै गृहमन्त्री लेखकले सडक दुर्घटनाका कारण लामो समयदेखि जनधनको क्षति भइरहेका प्रति चिन्ता व्यक्त गरेका थिए। ​सिमलताल दुर्घटनाको मुख्य कारण भेलबाढीकै कारण दुई वटा बस बगाएको आशय सहितको निष्कर्ष कार्यदल निकालेको थियो ।

प्रतिवेदनमा दुर्घटनास्थलमा स्थानीय पालिकाले सडक निर्माण गर्दा भिरालो र पहाडी क्षेत्रमा उचित इन्जिनियरिङ्ग–डिजाइन बिना नै ग्रामीण सडक खनिएको उल्लेख छ ।

प्रतिवेदनमा दुर्घटना स्थलमा कमजोर भूगोल तथा अत्याधिक क्रस स्लोप भएको देखिएको जनाइएको थियो । सडकमा कुनै टेवा पर्खाल निर्माण नगर्दा वर्षातको समयमा पहिरो गइ सडकमा क्रस गर्दै गएका दुईवटा बसलाई पहिरोले धकेलेर त्रिशूली नदीमा खसालेको देखिएको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति २०८२ असार २८ गते शनिबार ०१:११
हजुरको प्रतिक्रिया