एनपीएलका ८ टोलीबाट रिलिज भएका र नयाँ खेलाडीहरुले रजिस्ट्रेसन गर्न पाउने
पोखरा ।
नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि हुने अक्सनका लागि खेलाडी दर्ता प्रक्रिया सुरु भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले हिजो विज्ञप्ति निकालेर रजिस्ट्रेसन खुला भएको जानकारी गराएको हो ।
क्यानले हालै फ्रेन्चाइज टोलीबाट रिलिज भएका खेलाडी र नयाँ रुपमा अक्सनमा सहभागी हुन चाहने सबै नेपाली खेलाडीलाई दर्ता प्रक्रिया खुला गरिएको जानकारी दिएको हो ।
प्रतियोगितामा सहभागी हुन इच्छुक नेपाली खेलाडीले अनिवार्य रूपमा अनलाइनमार्फत नाम दर्ता गर्नुपर्नेछ ।
क्यानका अनुसार एनपीएलका आठ वटा टोलीबाट रिलिज भएका र नयाँ खेलाडीहरुले रजिस्ट्रेसन गर्न पाउने छन् । खेलाडीहरुले ‘ए’, ‘बी’ र ‘सी’ मध्ये जुनसकै श्रेणीमा आफ्नो नाम दर्ता गराउन सक्नेछन् ।
खेलाडीले आउँदो साउन ६ गतेसम्म अर्थात् २२ जुलाई २०२५ सम्म दर्ता गर्न सक्ने छन् । खेलाडी रजिस्ट्रेसनका लागि एक हजार रुपैयाँ शुल्क लाग्नेछ ।
एनपीएलको दोस्रो संस्करणका लागि आउँदो अगस्टमा मिनी अक्सन हुने तय भएको छ । त्यसअघि आठवटै टोलीले आ–आफ्नो रिटेन्सन लिस्ट सार्वजनिक गरिसकेका छन् ।
अब पहिलो सिजनमा रिलिज भएका तथा दर्ताबाट छानिएका खेलाडीहरू अक्सनमा बोली लाग्नेछन् ।
क्यानको वार्षिक क्यालेन्डरअनुसार एनपीएलको मिनी अक्सन अगस्ट महिनामा आयोजना हुने तयारी छ ।
प्रकाशित मिति २०८२ असार २९ गते आइतबार ०९:२७




