नेपाली बक्सरलाई जुनियर तथा युथ बक्सिङको एसियनस्तरमा ऐतिहासिक सफलता प्राप्त भएको छ। नेपालका छिरिङ वाङ्दी शेर्पाले जुनियर ५४ किलो तौल समूहको क्वार्टरफाइनलमा जित निकाल्दै नेपालका लागि पदक पक्का गरेर याे सफलता प्राप्त गरेका हुन् ।
दुबईमा सञ्चालन भइरहेको एएसबिसी जुनियर तथा युथ ब्वाइज एण्ड गर्लस् बक्सिङ प्रतियोगितामा जुनियर ५४ किलो तौल समूहको क्वार्टरफाइनलमा कुवेतका प्रतिद्वन्द्वी मोहमदलाई पराजित गर्दै शेर्पाले जित हात पारेका हुन् । नेपालका स्कुले मुक्केवाज छिरिङले तीनवटै राउण्डमा उत्कृष्ट खेल देखाउँदै ५–० ले जित हात पारेका हुन्।
अब छिरिङले सेमिफाइनलमा काजगिस्तानका प्रतिद्वन्द्वी अडाल्बेक नियाज्बासँग प्रतिस्पर्धा गर्नेछन्।
यसैगरी नेपालका दुई जना महिला मुक्केबाजहरू स्वस्तिका तिरुवाले र नारीका राईले पनि क्रमशः ५२ किलो तथा ५७ किलो तौल समूह अन्तर्गत नेपाललाई कास्य पदक पक्का गरी गरिसकेका छन्।
नेपालका सहभागी ६ जना सहभागी मुक्केबाजहरु मध्ये हालसम्म ३ कास्य पक्का गरिसकेका छन्।
नेपालले पदकको आशा गरेका अर्का युवा मुक्केबाज इन्द्रबहादुर सुनार इरानका खेलाडीसँग पहिलो राउण्डमा उत्कृष्ठ खेल प्रदर्शन गर्दै विजयी भएका थिए। तर उनी दोस्रो र तेस्रो राउण्डमा पराजित भए।
७१ किलो तौलमा नेपालका सुदेन गिरी आफ्नो तौलका विश्व वरियतामा अगाडि रहेका मुक्केबाजसँग आरएससीको आधारमा पराजित भए ।
प्रकाशित मिति २०७८ भदौ ७ गते सोमबार ०७:४१




