पोखरा ।
निरन्तरको वर्षापछिको पहिरो र लेदोका कारण बीपी राजमार्गका तीन स्थानमा सडक अवरुद्ध भएको छ ।
सोमबार राति अवरुद्ध सडक आज बिहानैदेखि खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।
रोशी गाउँपालिका–११ माम्तीस्थित सडकमा भेलबाढी आई कटान गरी सडक अवरुद्ध भएको छ । रोशी– ९ स्थित खहरे खोलाको लेदो आई सोमबार पनि सडक अवरुद्ध भएको थियो ।
सोही समयमा सोही वडाको बिरुवाडाँडामा खहरे खोलाको लेदो आई सडक अवरुद्ध भएको कार्यालयका सूचना अधिकारी मीनबहादुर घलेले जानकारी दिए ।
स्थानीय जनप्रतिनिधिको समन्वयमा सडक खुलाउने प्रयास भइरहेको छ । यही असार २५ गते पनि मंगलटारको बिरुवाडाँडामा सडक अवरुद्ध भएको छ ।
राजमार्गअन्तर्गत रोशीका विभिन्न स्थानमा आइतबार साँझदेखि नै वर्षासँगै लेदो झरेपछि सडक अवरुद्ध भएको थियो ।
रातभर जेसीभी प्रयोग गरी लेदो हटाएर सोमबार बिहान दुइतर्फी नै यातायात सञ्चालनमा ल्याइएको थियो ।
राजमार्गकै पिन्थली भन्ने स्थानमा यसअघि पनि पटकपटक सडक अवरुद्ध हुँदै आएको थियो ।
यही असार १६ गते, असार २५ र २६ गते पनि यहाँ सडक अवरुद्ध भएको थियो ।
यसरी दैनिकै जसो सडक अवरुद्ध हुन थालेपछि सो राजमार्ग हुँदै यात्रा गर्ने यात्रुले सास्ती खेप्नुपरेको छ ।
प्रकाशित मिति २०८२ असार ३१ गते मंगलबार ०९:३१




