पोखरा ।
बंगलादेशमा जारी साफ यू–२० महिला फुटबल च्याम्पियनसिपको आफ्नो चौथो खेलमा नेपालले आज श्रीलंकासँग खेल्दै छ ।
च्याम्पियनसिपअन्तर्गत नेपालले श्रीलंकासँग दोस्रोपटक खेल्न लागेको हो । यो खेल बसुन्धरा स्पोट्र्स मैदानमा नेपाली समयअनुसार दिउँसो पौने ३ बजेदेखि सुरु हुनेछ ।
श्रीलंकासंग मंगलबार भएको खेलमा नेपाल ७–० ले विजयी भएको थियो ।
यसअघिका खेल बसुन्धरा किंग्स एरेनामा हुँदै आएपनि अबका चार खेलहरू– सातौं, आठौं, नवौं र दशौं खेलहरू बसुन्धरा स्पोट्र्स ग्राउन्डमा हुने भएका छन् ।
मंगलबार भारी वर्षाका कारण किङ्स एरेनाको मैदान बिग्रिएको थियो । त्यही कारण बंगलादेश र भुटानबीचको खेलको दोस्रो हाफ नै सुरु हुन नसक्दा अर्को मैदानमा खेलाइएको थियो ।
नेपाल र श्रीलंकाबीचको खेल पनि ढिलागरी अर्को मैदानमा सुरु भएको थियो ।
नेपालले आफ्नो पहिलो खेलमा शुक्रबार भुटानलाई ६–१ गोलअन्तरले हराएको थियो भने दोस्रो खेलमा बंगलादेशसँग ३–२ गोलअन्तरले पराजित भएको थियो ।
श्रीलंकाले पहिलो खेलमा बंगलादेशसँग ९–१ को फराकिलो हार बेहोरेको थियो । दोस्रो खेलमा भुटानसँग ५–० को हार बेहोरेको थियो ।
प्रतियोगितामा बंगलादेश ३ खेलमा ९ अंकसहित शीर्षस्थानमा छ भने ३ खेलमा ६ अंकसहिथ नेपाल दोस्रो र ३ अंकसहित भुटान तेस्रो स्थानमा छ ।
चार टोली सहभागी च्याम्पियनसिप डबल राउण्ड रोबिन फम्र्याटमा भइरहेको छ । नेपालसहित बंगलादेश, श्रीलंका र भुटानले भाग लिइरहेको यो प्रतियोगिता जुलाई २२ सम्म चल्ने छ ।
नेपालले अब अर्को खेल जुलाई १९ मा भुटान र जुलाई २१ मा बंगलादेशविरुद्ध खेल्ने तालिका छ ।
अन्तिममा धेरै अंक जोडेर शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।
प्रकाशित मिति २०८२ साउन २ गते बिहीबार ०९:१५




