रसुवा ।
गत असार २४ गतेको ल्हेन्दे खोलाको बाढीले मितेरी पुल बगाएपछि केरूङमा अलपत्र नेपालीलाई वैकल्पिक बाटोबाट स्वदेश फर्काइने भएको छ ।
रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार अलपत्र परेका एक हजार २०० जनालाई स्वदेश फर्काउने व्यवस्थाका लागि परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारलाई अनुरोध गरिएको छ ।
केरुङमा रहेका नेपालीको भोजन एवं आवासको प्रबन्ध चिनियाँ पक्षले गरेको छ । अलपत्र परेकामा मालवाहक सवारी साधनका चालक तथा सहचालक गरी ९१ जना छन् ।
कामको सिलसिलामा त्यहाँ रहेका ११७ जनाले पनि घर फर्कने प्रबन्धका निम्ति प्रमुख जिल्ला अधिकारीसमक्ष आग्रह गरेका जनाइएको छ ।
गत असार २४ गते बिहान चीनतर्फबाट आएको हिमबाढी भोटेकोशीमा मिसिँदा विनाशकारी बनेको थियो ।
बाढीमा परी ११ शव र मानवअंगहरु फेला परेका छन् भने १८ जना सम्पर्कविहीन छन् । बाढीले नेपाल–चीन मितेरी पुल भत्काइदिनुका साथै रसुवागढी–स्याफ्रुबेसी खण्डको १६ किलोमिटर क्षेत्रको सडक पूर्णरुपमा अवरुद्ध भएको छ । रसुवागढी सुक्खा बन्दरगाह, सो क्षेत्रमा पर्ने तीनवटा जलविद्युत आयोजना र भन्सार क्षेत्रबाट करिब एक सय गाडीहरु बगाएको थियो ।
सडक क्षति भएको अन्य स्थानमा मर्मतको काम सकिए पनि लिङलिङमा मात्र ट्र्याक खोल्न बाँकी रहेको सडक विभागका अधिकारीहरु बताउँछन् ।
प्रकाशित मिति २०८२ साउन २ गते बिहीबार ०१:१२




