माल्दिभ्सको धिवेही सिफाइङ्गेलाई ३–२ को सेटले हरायो
पोखरा ।
सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) मेन्स च्याम्पियन्स लिग २०२५ को पहिलो खेलमा नेपालको टोली हेल्प नेपाल स्पोट्स क्लवको बिजयी सुरुवात भएको छ ।
माल्दिभ्सको राजधानी मालेमा हिजोदेखि सुरु भएको लिगमा नेपाली टोली हेल्प नेपाल स्पोर्टस क्लबले आफ्नो पहिलो खेलमा माल्दिभ्सको धिवेही सिफाइङ्गेलाई ३–२ को सेटले हराएको छ ।
खेलको पहिलो सेट ३३–३१ ले आफ्नो पक्षमा पारेको हेल्प नेपालले दोस्रो सेट २५–२२ मा जित निकाल्यो ।
माल्दिभ्सको धिवेही सिफाइङ्गे क्लवले तेस्रो सेटमा उत्कृष्ट कम ब्याक गर्दै २५–२२ र चौथो सेटमा २५–२० ले आफ्नो पक्षमा पारेपछि खेल पाँचौ सेटमा पुग्यो ।
खेलको पाँचौ सेट हेल्प नेपालले १५–८ ले आफ्नो पक्षमा पादैं ३–२ को जित निकालेको हो ।
त्यस्तै हिजै सम्पन्न अर्को खेलमा कीर्गिस्तानको बिश्केकले माल्दिभ्सकै अर्को टोली क्लब एचडिसी लाई र काजकिस्तानको जायक भिसीले श्रीलंकाको पोर्टस अथोरिटीलाई पराजित गरेका छन् ।
काभामा काजकिस्तान, किर्गिस्तान, श्रीलंका, नेपाल र माल्दिभ्सका क्लबको सहभागिता छ । सेन्ट्रल एसियाका पाँच राष्ट्रको सहभागिता रहेको प्रतियोगिता सिंगल राउन्ड रोविनको आधारमा भइरहेको छ ।
प्रतियोगितामा शीर्ष स्थानमा रहने दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै तेस्रो र चौथो स्थानमा रहने टोलीले तेस्रो स्थानका लागि खेल्नेछन् ।
अब नेपालले आज माल्दिभ्सकै अर्काे टोली क्लब एचडिसी संग प्रतिस्पर्धा गर्नेछ ।
हेल्प नेपाल गत संस्करणको उपविजेता टोली हो । नेपालमा गत वर्ष भएको यो च्याम्पियनसिपको पहिलो संस्करणमा हेल्प नेपाल फाइनलमा पराजित भएको थियो ।
यो पटक भने हेल्प नेपाल उपाधि जित्ने लक्ष्यसहित सहभागी भएको छ । यसका लागि विदेशी खेलाडीहरु समेटेर टोली बनाइएको छ ।
यो प्रतियोगिताको सन् २०२६ को एसियन क्लब च्याम्पियनसिपको छनोट पनि हो ।
विजेता टोलीले एसियन क्लब च्याम्पियनसिप खेल्न पाउनेछ । साउन ७ गतेसम्म चल्ने प्रतियोगिता सिंगल राउण्ड रोबिनका आधारमा हुनेछ ।





