काठमाडौं ।
मिना देउवा र पूर्णिमा राईको ह्याट्रिकमा नेपालले साफ यु–२० महिला च्याम्पियनसिपमा निरिह भुटानलाई ८–० गोल अन्तरले पराजित गरेको छ ।
यो जितसँगै नेपालको चौथो जित भएको छ। ५ खेलमा नेपालले १२ अंक बनाएको छ । उपाधिको लागि अब बंगलादेश विरूद्धको खेल निर्णायक हुनेछ । बंगलादेशमा भएको खेलमा पूर्णिमा र मिनाले ह्याट्रिकको सफलता प्राप्त गरे ।
समिक्षा मगर र कुसुम खतिवडाले एक–एक गोल गरे । नेपालले खेल सुरु भएको ४४ औं सेकेन्डमा नै अग्रता बनायो । सरिता कुमारी नाथको क्रसलाई भुटानकी डिफेन्डरले ब्लक गरेपनि मिनाले बललाई सही दिशा दिइन्। नवौं मिनेटमा नेपालले अग्रता दुगुना गर्यो । समिक्षाले हानेको लामो प्रहार क्रसमबारमा लागेर आएको बल भुटानकी गोल किपरलाई लाग्दै गोलमा परिणत भयो ।
१२ औं मिनेटमा नेपालले तेस्रो गोल गर्यो । शुक्रिया मियाले हानेको प्रहारलाई भुटानकी गोल किपरले रोकेपनि रिबाउन्डमा ६ यार्ड बक्स भित्रबाट मिनाले हानेको लेफ्ट फुटेट सटले जाली चुम्यो ।
गोलको वर्षा भएको खेलको २३ औं मिनेटमा मिनाको पासमा पूर्णिमाले क्लोज रेन्जबाट गोल गरिन् । नेपालले ४–० को अग्रता बनायो । इन्ज्युरी समयको पहिलो मिनेटमा सरिताको फ्रि–किकमा गोल किपरले मिस जज गर्दा पूर्णिमाको हेडर गोलमा परिणत भयो । पहिलो हाफ कै इन्ज्युरी समयको अन्तिम मिनेटमा डिफेन्डरलाई छलाउँदै पूर्णिमाले उत्कृष्ट गोल गरिन्। यो सँगै उनले ह्याट्रिक पुरा गरिन् । पहिलो हाफमा नेपालले ६–० को अग्रता बनाएको थियो ।
दोस्रो हाफमा दुई मिनेटभित्र नेपालले दुई गोल गर्यो। ६३ औं मिनेटमा शुक्रियाको पासमा कुसुमले गोल गरिन् । लगतै ६४ औं मिनेटमा शुक्रियाको पासमा मिनाले व्यक्तिगत तेस्रो गोल गरिन्। नेपाल ८–० को फराकिलो अन्तरको जित निकाल्न सफल रहयो । नेपालले सोमवार बंगलादेशसँग खेल्नेछ। त्यो खेलले उपाधिकि निर्णय हुनेछ ।
नेपालले श्रीलंका र भुटान दुबैलाई दुई पटक हराएको छ । भुटानलाई नेपालले पहिलो खेलमा ६–१ ले माथ दिएको थियो। आयोजक बंगलादेशसँगको खेलम ३–२ गुमाएको नेपालले श्रीलंकालाई दुबै खेल समान ७–० ले हराएको थियो ।
प्रकाशित मिति २०८२ साउन ४ गते शनिबार ०७:५९




