पोखरा
गण्डकी प्रदेश हक्की संघले खेलाडी सम्मान गरेको छ । संघले शनिबार ३२ जना खेलाडीलाई नगदसहित सम्मान गरेको हो । यस्तै हालै नियुक्त भएका प्रदेश खेलकुद परिषदका सदस्यहरूलाई परिचयात्मक तथा सम्मान कार्यक्रम पनि गरेको छ । कार्यक्रमका प्रमुख अतिथि प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोजकुमार गुरुङले प्रदेशमा दर्ता भएका २७ वटा खेल संघमध्ये प्रदेश हक्की संघलाई उत्कृष्ट संघ भएको बताए । उनले १०औं राष्ट्रिय खेलकुदको तयारीमा जुट्न पनि सबैलाई आह्वान गरे । ‘हक्की अहिले विद्यालय क्षेत्रमै मात्र होइन, सम्पूर्ण प्रदेशमै लोकप्रिय हुँदै गएको छ,’ उनले भने ।
कार्यक्रममा हक्की संघका केन्द्रीय उपाध्यक्ष हिमाल खडका, केन्द्रीय सदस्य हितकुमार गुरुङ, कास्की जिल्ला हक्की संघका अध्यक्ष सुजन पुन, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङ, उपाध्यक्ष तिलकबहादुर अधिकारी, कार्यलय प्रमुख सुन बहादुर लामा लगायत प्रदेश खेलकुद परिषदका नवनियुक्त सदस्यहरू साथै खेलाडीहरुको उपस्थिति थियो ।
संघका अध्यक्ष दीपकबहादुर थापाले हक्की संघ आधिकारिक रूपमा दर्ता भएको ६ महिनामै ५ वटा उपाधि जितेको जानकारी दिए । उनले भारतको जस्थानमा सम्पन्न मैत्रीपूर्ण खेलमा सहभागिता तथा मलेशियामा आयोजित आमन्त्रीत प्रतियोगितामा गण्डकी प्रदेशबाट दुई जना खेलाडीले सहभागिता जनाएर उपाधि जितेको बताए । अध्यक्ष थापाले हक्की मैदानको व्यवस्थापनमा प्रदेश र जिल्लाबाट थप सहयोगको अपिल गरे ।
कार्यक्रमको स्वागत मन्तव्य हक्की संघका केन्द्रीय उपाध्यक्ष हिमाल खडकाले राख्नुभएको थियो भने सञ्चालन सचिव अजय क्षेत्रीले गरेका थिए ।
प्रकाशित मिति २०८२ साउन ४ गते शनिबार ०८:४३




