पोखरा ।
कास्की कारागारमा रहेका कैदीबन्दीहरुले गृहमन्त्री रमेश लेखकलाई पत्र लेखेका छन् ।
कास्की कारागारको क ब्लकमा अजय गुरुङ चौकीदार नियुक्त हुने निर्णय खारेजीको माग गर्दै कैदीबन्दीले गृहमन्त्रीलाई पत्र लेखेका हुन् ।
चौकीदार नियुक्त भएका अजय गुरुङले कैदीबन्दीहरुको हकहित तथा सुरक्षा गर्न नसक्ने, कार्यशैली निरङ्कुश तथा पक्षपातपूर्ण रहेको र चौकिदारको भुमिकामा रहदा कैदीबन्दीहरुको आर्थिक शोषण गर्ने उनीहरुको आरोप छ ।
कैदीबन्दीको मनोभावना नबुझी ठुलो मात्रामा आर्थिक चलखेल गरी प्रजातान्त्रीक मान्यताको अवमुल्यन गरी आफ्नो चौकिदार आफै छनौट गर्न पाउने कैदीबन्दीको अधिकार हनन् भएको पत्रमा उल्लेख गरिएको छ ।
छनौट प्रक्रियामा प्रतिस्पर्धामा रहेका मध्ये प्रकाश गुरुङ्गलाई चौकिदार पदमा नियुक्त गर्न भन्दै क ब्लकमा रहेका ३६६ जना कैदी बन्दी मध्ये ३६२ जनाले हस्ताक्षर गरी मागपत्र पेश गरेका हुन् ।
कैदीबन्दीको माग पुरा नभएसम्म अनिश्चितकालिन बहिस्कार, आमरण अनसन लगायतका आन्दोलन गर्ने उनीहरुले बताएका छन् । चौकिदार नियुक्तीको क्रममा भएको आर्थिक चलखेलको छानविन गरी दोषीलाई कानुनि कार्वाही गर्न
कैदीबन्दीले माग गरेका छन् ।
राजनीतिक चलखेलबाट चौकीदार छानिएको भन्दै कास्की कारागारमा कैदीबन्दीहरुले आइतबार नाराबाजी गरेका थिए । कास्की कारागारको कु ब्लकमा चौकीदार अजय गुरुङ नियुक्त गरिएको भन्दै प्रकाश गुरुङ पक्षले नाराबाजी गरेका हुन् ।
चौकीदारका लागि अजय गुरुङ, प्रकाश गुरुङ र प्रसान्त थापाको नाम सिफारिस गरिएको थियो । कारागार विभागले आइतबार अजय गुरुङलाई नियुक्त गरेपछि कैदीबन्दी आन्दोलित भएका हुन् ।




