काठमाडौं ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारको नीतिगत सुधारको प्रभाव पुँजीबजारमा पर्न थालेको दाबी गरेका छन् ।
नेपाल चेम्बर अफ कमर्सले बुधबार काठमाडौंमा आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले यस्तो दाबी गरेका हुन् ।
उनले निजी क्षेत्रलाई सहज हुनेगरी सरकारले निर्माण तथा परिवर्तन गरेका कानूनहरुको प्रभावका कारण पूँजीबजारको रङ्ग हरियो भएको जिकिर गरे ।
वस्तु निर्यातमा देखिएको सफलताको श्रेय निजी क्षेत्रलाई दिँदै वस्तु आयातमा नियन्त्रण हुँदै गएको पनि उनले बताए ।
निजी क्षेत्रको मागअनुरुप नै लगानीमैत्री वातावरणको मागका आधारमा कालोबजारी ऐन खारेज गरेको उल्लेख गर्दै उनले निजी क्षेत्रले मनग्य मुनाफा कमाउने बाटो खुला भएको जिकिर गरे ।
उनले भने, ‘नेपालको पुँजीबजारको रङ्ग हरियो भएको छ । यो सुखद् कुरा हो । सुस्ताएको, आरालो लागेको बजार आज एउटा आशा लाग्दो भएको छ । केही नयाँ आशा र सम्भावना पनि देखाएको छ । तथ्यांकले पछिल्लो समयमा हामीले वस्तुको निर्यातमा पनि सफलता पाएका छौं । यसमा पनि निजी क्षेत्रको योगदान छ । सरकारले गरेको नीतिगत सुधारका कारण आज केही सकारात्मक सन्देशहरु प्राप्त भएका छन् । हाम्रो बजार र व्यवसाय २० प्रतिशतको मुनाफामा सिमित थियो । कुनै पनि व्यवसायले आफ्नो मुनाफाको २० प्रतिशत मात्रै लिन पाउँथ्यो । त्यो भन्दा माथि भए कालोबजारी भएको ठहरिन्थ्यो । त्यही भएर हामीले कालोबजारी ऐनलाई खारेज गर्यौं । यसले बजार र व्यवसायीलाई उत्साही बनाएको छ । व्यवसायीको लगानीमै वातावरणको माग हामीले सम्बोधन गरेका छौं ।’
उनले सरकार निजी क्षेत्रको लगानी संरक्षणका लागि प्रतिवद्ध रहेको पनि उल्लेख गरे ।
वस्तुको गुणस्तरीयता कायम गर्न तथा कालोबजारी रोक्न एमआरपी अनिवार्य गरिएको पनि मन्त्री भण्डारीको भनाइ थियो ।
प्रकाशित मिति २०८२ साउन ९ गते बिहीबार ०९:११




