२०८३ साउन २१ गते बिहीबार

सामाजिक सुरक्षा कोष सम्बन्धी निजी स्वास्थ्य संस्थालाई प्रशिक्षण

सामाजिक सुरक्षा कोष सम्बन्धी निजी स्वास्थ्य संस्थालाई प्रशिक्षण

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन ९ गते बिहीबार १०:५५

कार्यक्रममा सामाजिक सुरक्षा कोष पोखराका प्रमुख रमेश ढुंगेलले कोषमा सूचीकृत हुने प्रक्रिया, योगदान रकमको हिसाबकिताब, कानुनी पक्ष, प्रविधिको प्रयोग र दण्डसजायसम्बन्धी व्यवस्थाबारे विस्तृत जानकारी गराएका थिए ।

पोखरा ।

एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) गण्डकीले आफ्ना सदस्य संस्थाहरूलाई सामाजिक सुरक्षा कोष र त्यसमा गर्नुपर्ने योगदानबारे प्रशिक्षण दिएको छ ।

पोखरामा आयोजित कार्यक्रममा कोषमा सूचीकरण हुने प्रक्रिया, योगदान रकमको गणना, कानुनी प्रावधान र प्रविधिको प्रयोगजस्ता विषयमा जानकारी गराइएको थियो ।

कार्यक्रममा सामाजिक सुरक्षा कोष पोखराका प्रमुख रमेश ढुंगेलले कोषमा सूचीकृत हुने प्रक्रिया, योगदान रकमको हिसाबकिताब, कानुनी पक्ष, प्रविधिको प्रयोग र दण्डसजायसम्बन्धी व्यवस्थाबारे विस्तृत जानकारी गराएका थिए ।

उनले हालसम्म देशभरबाट २५ लाख र गण्डकी प्रदेशबाट २५ हजार योगदानकर्ता कोषमा आवद्ध भएको तथ्यांक प्रस्तुत गरे ।

“जब योगदानकर्ताको संख्या १ करोड पुग्छ, राज्य थप सेवा–सुविधा उपलब्ध गराउन बाध्य हुनेछ,” ढुंगेलले भने ।

त्यस्तै अफिन गण्डकीका अध्यक्ष कपिल पोखरेलले सामाजिक सुरक्षाको महत्त्वमाथि प्रकाश पार्दै निजी स्वास्थ्य संस्थाले भोग्नुपरेका जनशक्तिको अभावलगायतका समस्याबारे चर्चा गरे ।

उनले भने, “हामी नर्सलाई राज्यले तोकेको तलब दिन तयार छौं, तर उनीहरू कम्तीमा ६ महिना काम गर्ने प्रतिबद्धता जनाउँदैनन् ।“ यसले गर्दा स्वास्थ्य क्षेत्रमा जनशक्ति अभाव बढ्दै गएको उनको भनाइ थियो ।

संस्थाकी उपाध्यक्ष डा. चन्दिका पण्डितले सरकारले ल्याएका योजनामा निजी क्षेत्र सहभागी हुनुपर्नेमा जोड दिँदै राज्यले पनि अस्पताल सञ्चालकका समस्या बुझिदिनुपर्ने बताइन ।

उनले भनिन्, “हामी अत्यन्तै संवेदनशील क्षेत्रमा छौं, कहिलेकाहीँ बिरामीसँग आर्थिक अभाव हुँदा निःशुल्क उपचार गर्नुपर्ने बाध्यता पनि छ ।“

अफिन गण्डकीका अध्यक्ष कपिल पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव सूर्यप्रसाद पोखरेलले गरेका थिए ।

कार्यक्रममा सहभागी विभिन्न निजी अस्पतालका अध्यक्ष, प्रबन्धक तथा लेखा शाखाका प्रतिनिधिहरूले सामाजिक सुरक्षा कोषबारे आफ्ना जिज्ञासा राखेका थिए ।

सहभागीहरूले कार्यक्रम अत्यन्तै जानकारीमूलक र उपयोगी भएको प्रतिक्रिया दिएका थिए ।

प्रकाशित मिति २०८२ साउन ९ गते बिहीबार १०:५५
हजुरको प्रतिक्रिया