२०८३ साउन २१ गते बिहीबार

गुँलापर्व आजदेखि शुरु

गुँलापर्व आजदेखि शुरु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन १० गते शुक्रबार ०९:२१

यो पर्वमा एक महिनासम्म विभिन्न बाजागाजासहित बौद्ध चैत्य गुम्बा र बिहार परिक्रमा गर्ने चलन छ । यो पर्व अवधिभर माछामासु, जाँडरक्सीजस्ता तामसी वस्तु आदि खान नहुने विश्वास गरिन्छ ।

पोखरा ।

विशेषगरी नेवार समुदायका बौद्ध धर्मावलम्बीले मनाउने गुँलापर्व आजदेखि शुरु भएको छ ।

नेपाल संवतको नवौँ महिनामा यो पर्व मनाइन्छ । नेपाल भाषामा ‘गुँ’को अर्थ नौ र ‘ला’को अर्थ महिना भनिन्छ । बौद्ध धर्मावलम्बी नेवार समुदायले यो पर्व मनाउने गर्छन् ।

गुँलाथ्व पारु (श्रावण शुक्ल प्रतिपदा) मा शुरु भएर ञलाथ्व पारु (भाद्र शुक्ल प्रतिपदा) मनाउने परम्परा छ । यो पर्व आज साउन ९ मा शुरु भएर आउँदो भदौ ८ गते समापन हुनेछ ।

यो पर्वमा एक महिनासम्म विभिन्न बाजागाजासहित बौद्ध चैत्य गुम्बा र बिहार परिक्रमा गर्ने चलन छ । यो पर्व अवधिभर माछामासु, जाँडरक्सीजस्ता तामसी वस्तु आदि खान नहुने विश्वास गरिन्छ ।

हिनयान, महायान र बज्रयान तीनै समुदायका बौद्ध अनुयायीले भगवान बुद्धप्रतिको आस्था प्रकट गर्दै एक महिनासम्म गुँला पर्व मनाउने गर्छन् ।

साउन शुक्ल प्रतिपदादेखि भदौ शुक्ल प्रतिपदासम्म मनाइने यस पर्वमा बौद्धधर्म भक्तिभाव झल्काउने कर्म गरिन्छ ।

यो अवधिलाई शाक्यमुनि गौतम बुद्धले बुद्धत्व प्राप्त गरेको पवित्र महिनाका रूपमा लिने गरिन्छ ।

काठमाण्डौको स्वयम्भू महाचैत्य परिक्रमापछि शोभाभगवतीसँगैका विजयश्वरी, केलटोलको सेतो मत्स्यनारायण पनि परिक्रमा गर्ने परम्परा छ ।

हरेक बिहान गुँलाः बाजा बजाउँदै स्वयम्भू महाचैत्यका साथ बौद्ध चैत्य, मन्दिर तथा विहार परिक्रमा गरेर पर्व शुरु गरिन्छ ।

सिठी नखःमा थन्क्याइएको बाजा गठेमंगलका दिन निकालेर गुँला पर्व शुरुवातमा निकालिन्छ ।

नेवार समुदायका गोपालीले पानीका मुहानमा पूजा गरी परिक्रमा गर्ने चलन छ ।

असारभर पानी परेर थुनिएका मुहान, ढल, कुलेसो यही समयमा खोल्ने गरिन्छ ।

प्रकाशित मिति २०८२ साउन १० गते शुक्रबार ०९:२१
हजुरको प्रतिक्रिया