२०८३ असोज २४ गते शनिबार

शहीद स्मृति विद्यालयमा वाईसीएल गण्डकीले गर्‍याे वृक्षरोपण

शहीद स्मृति विद्यालयमा वाईसीएल गण्डकीले गर्‍याे वृक्षरोपण

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन ११ गते शनिबार ०१:१२

पोखरा । योङ कम्युनिस्ट लिग वाईसीएल नेपाल गण्डकी प्रदेश समितिले पोखरास्थित शहीद स्मृति आवासीय माध्यमिक विद्यालयमा फलफूल र डालेघाँसका १५० बिरुवा रोपेको छ। केन्द्रको वृक्षरोपण अभियान अन्तर्गत गरिएको कार्यक्रममा वातावरण संरक्षण...

पोखरा ।

योङ कम्युनिस्ट लिग वाईसीएल नेपाल गण्डकी प्रदेश समितिले पोखरास्थित शहीद स्मृति आवासीय माध्यमिक विद्यालयमा फलफूल र डालेघाँसका १५० बिरुवा रोपेको छ।

केन्द्रको वृक्षरोपण अभियान अन्तर्गत गरिएको कार्यक्रममा वातावरण संरक्षण र उत्पादनमूलक कार्यलाई जोड दिइएको थियो।

वाईसीएल गण्डकीका अध्यक्ष थमन गुरुङका अनुसार विद्यालय परिसरमा आँप, लिची, एभोगाडो, अमला लगायतका फलफूलका साथै शीतल चिनी, राइखनियो र कोइरालो प्रजातिका डालेघाँसका बिरुवा रोपिएको हो।

“यो अभियानले विद्यालयमा हरियाली सिर्जना गर्नुका साथै पशुपालनमा समेत योगदान पुर्‍याउनेछ,” गुरुङले बताए।

विद्यालयमा गाईभैँसी समेत पालिँदै आएको छ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङ, माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्व प्रदेश सांसद दीपक कोइराला, केन्द्रीय सदस्य शैलेन्द्र घिमिरेलगायत नेताहरूको उपस्थिति थियो।

प्रदेश अध्यक्ष गुरुङले युवाहरूको यस्तो सिर्जनात्मक क्रियाकलापले समाजमा सकारात्मक सन्देश दिने बताउँदै रोपिएका बिरुवाको संरक्षणमा विशेष ध्यान दिन आग्रह गरिन्।

वाईसीएल अध्यक्ष थमन गुरुङले बिरुवा रोपेर मात्रै नभई तिनको स्याहारसुसार र संरक्षणमा विद्यालयसँग मिलेर लामो समयसम्म सहकार्य गर्ने प्रतिबद्धता जनाए।

वृक्षरोपण कार्यक्रममा वाईसीएल गण्डकीका पदाधिकारी, कार्यसमिति सदस्य तथा कास्कीको टिमको सक्रिय सहभागिता रहेको थियो।

सहभागीहरूले उत्साहपूर्वक बिरुवा रोपी वातावरण संरक्षणप्रतिको प्रतिबद्धता दोहोर्‍याएका थिए।

 

 

 

प्रकाशित मिति २०८२ साउन ११ गते शनिबार ०१:१२
हजुरको प्रतिक्रिया