पोखरा ।
१७औं संस्करणको पुरुष एसिया कपको तालिका सार्वजनिक गरिएको छ ।
एसियाली क्रिकेट परिषद (एसीसी)ले सार्वजनिक गरेको तालिका अनुसार प्रतियोगिता आगामी सेप्टेम्बर ९ देखि २८ सम्म संयुक्त अरब इमिरेट्स (यूएई)मा टी–२० फम्र्याटमा हुनेछ ।
तालिका अनुसार भारत र पाकिस्तान एकै समूहमा छन् । भारत र पाकिस्तान रहेको समूह एमा ओमान र आयोजक यूएई पनि छन् ।
समूह ए मा रहेका भारत र पाकिस्तानबिचको खेल १४ सेप्टेम्बरमा हुने छ । यदि दुबै टिम सुपर–४ मा पुगेमा २१ सेप्टेम्बरमा अर्को खेल हुन सक्ने सम्भावना रहेको छ ।
त्यस्तै समूह बी मा बंगलादेश, अफगानिस्तान, श्रीलंका र हङकङ छन् ।
बंगलादेश र हङकङबीचको उद्घाटन खेल सेप्टेम्बर ९ मा हुनेछ ।
समूह चरणपछि हरेक समूहका शीर्ष दुई टोली सुपर फोर चरणमा पुग्नेछन् भने शीर्ष दुई टोली सेप्टेम्बर २८ मा हुने फाइनलमा भिड्नेछन् । प्रतियोगिता टी–२० फम्र्याटका आधारमा हुनेछ ।
एसिया कप २०२५ को आयोजनाको जिम्मा भारतलाई मिलेको थियो ।
तर भारत–पाकिस्तानबिचको तनावका कारण प्रतियोगिता न्युट्रल भेन्यूमा खेल्न लागिएको हो ।
पाकिस्तानले भारतीय भूमिमा कुनै पनि हालतमा नखेल्ने बताएको थियो ।
यसअघि भारतले पनि पाकिस्तानमा आयोजना भएका प्रतियोगितामा आफ्ना खेल न्युट्रल भेन्यूमा खेल्दै आएको छ ।
एसिया कपको सुरुवात १९८४ मा भएको थियो । अहिले सम्म यो प्रतियोगिता १६ पटक भएको छ ।
भारतले यो प्रतियोगिता सर्वाधिक ८ पटक जित्दा श्रीलंकाले ६ र पाकिस्तानले २ पटक जितेको छ ।
प्रकाशित मिति २०८२ साउन १२ गते आइतबार १०:४९




