पोखरा ।
हायू परिवारका १६ जना हराएको भन्ने खबरले शोबार दिनभर जसो चर्चा पायो । राष्ट्रिय मिडियाको हेडलाईन बने । चर्चा मात्र हैन १६ जनाको जम्बो परिवार नै सम्पर्कबिहिन हुदाँ धेरैलाई चिन्तित पनि बनायो । देशै भरि प्रहरी परिचालन भयो । खुशीको कुरा सिन्धुलीको हायू परिवार पोखरामा सकुशल भेटिए ।
सम्पर्कविहीन भनिएका सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाको हायू परिवारका सदस्य कास्कीको गगनगौंडामा फेला परेका थिए । गत साउन १० गते सिन्धुलीको गोलन्जोरबाट एकाएक सम्पर्कविहीन भएको उर्मिला हायूको परिवार सोमबार राती ९ः२० मा फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्यामबाबु ओलियाका अनुसार उनीहरूलाई गगनगौंडास्थित सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा आश्रय लिइरहेको अवस्थामा फेला पारिएको हो ।
उनिहरुसंगको कुराकानीमा २० हजार रुपैयाँमा गाडी भाडामा लिएर सपरिवार पोखरा आएका रहेछन् । शनिबार लेकसाइडमा रहेको होटल जननीमा बसेर आइतबार निस्किएका थिए त्यसपछि सीसीटीभीको आधारमा उनीहरूको लोकेसन पत्ता लाग्यो ।
बेलाबेलामा बिरामी भइरहने र धामीले त्यहाँ नबस्न भनेपछि छेत्पाबाट हिँडेको उनीहरूले बताएका छन् । आफ्नो गाउँ छेत्पामा पटक–पटक बिरामी पर्ने समस्याले सताएपछि गाउँ नै छाडेर हिँडेको उर्मिला हायूले बताएकी छन् । उनीहरुले अब आफ्नो पुरानो थातथलोमा नफर्किने बताएका छन् । परिवारका सदस्यले पोखरामा काम गर्नका लागि आएको बताएका छन् । पाँचओटा कोठा भाडामा लिएर उनिहरु पोखरामा नै बस्न थालेका छन् ।
सिन्धुलीको छेत्पामा आफुहरु असुरक्षित रहेको उनिहरुको भनाई छ । श्रीमानको मृत्यु भएको घटनाले दुखीत भएको श्रीमती उर्मिला हायू बताउछिन् । तर श्रीमानको मृत्यु कसरी भयो भन्ने उनि खुलाउन चाहिनन् । घरमा आगो लागेको विषयमा सोध्दा उनिहरु जानकारी नभएको बताउछन् ।
पोखरा महानगरपालिका–३०, गगनगौंडामा भेटिएका उनीहरुलाई प्रहरीले मंगलबार आफन्तको जिम्मा लगाएको छ ।
वडा नम्बर ३० का वडाध्यक्ष दुर्गाप्रसाद सुवेदीसहित अन्य स्थानीयको रोहबरमा आफन्त धनबहादुर तामाङ र अमिस तामाङको जिम्मा लगाएको हो । परिवारका १६ जना भनिए पनि पोखरामा फेला पर्दा उनीहरुको संख्या १९ पुगेको थियो, जसमा हायु परिवारका सदस्य र केही नातेदार समेत रहेको प्रहरीले पुष्टि गरेको छ ।




