२०८३ साउन २१ गते बिहीबार

‘मनसुन शुरु भएको डेढ महिना बितिसक्दा पनि देशभरका ठूला नदीले खतराको तह पार गरेनन्’

‘मनसुन शुरु भएको डेढ महिना बितिसक्दा पनि देशभरका ठूला नदीले खतराको तह पार गरेनन्’

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन १५ गते बुधबार १२:२७

काठमाडौं । नेपालमा मनसुन शुरु भएको करिव डेढ महिना बितिसकेको छ । गत जेठको १५ गते रातिबाट नेपालमा पूर्वबाट मनसुन भित्रिएको थियो । ठाउँ–ठाउँमा भीषण वर्षा भएको छ । ५ सय बढी विपद्का घटना पनि भएका छन् । जनधनको क्षति पनि ठूलो भएको छ ।...

काठमाडौं ।

नेपालमा मनसुन शुरु भएको करिव डेढ महिना बितिसकेको छ ।

गत जेठको १५ गते रातिबाट नेपालमा पूर्वबाट मनसुन भित्रिएको थियो । ठाउँ–ठाउँमा भीषण वर्षा भएको छ । ५ सय बढी विपद्का घटना पनि भएका छन् ।

जनधनको क्षति पनि ठूलो भएको छ । तर देशभरका कुनैपनि ठूला नदीमा बाढीले खतराको तह पार नगरेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका प्रमुख विनोद पराजुलीले बताए । यस वर्ष सरदर भन्दा बढी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले पूर्वानुमान गरेको थियो । तर अहिलेसम्म पनि देशका ठूला नदीहरुमा बाढीले खतराको तह पार गर्न सकेको छैन ।

आगामी तीन दिनमा पनि कुनै प्रमुख नदीहरुमा खतराको तह भन्दा बढी बाढी नजाने उनको भनाइ छ । साना नदीहरुमा ठूलो पानी पर्दा ठूलो बाढी आउनसक्ने उनले बताए ।

आज पनि गण्डकी, कर्णाली र वागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली क्षेत्रहरुमा आकस्मिक बाढी आउनसक्ने अनुमान रहेको बताए ।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले पछिल्लो डेढ महिना मधेस प्रदेशमा सरदरमा करिव ५० प्रतिशतसम्म वर्षा भइसक्नुपर्नेमा हालसम्म २० देखि २५ प्रतिशत वर्षा मात्रै भएको बताए ।

हालका दिनहरुमा भने केही वर्षा भएको र आगामी दिनमा वर्षा हुँदै जाने बताए ।

उनले भने, ‘रसुवामा गत राति मध्यम किसिमको बाढी आएको देखिन्छ । करिव रातको १ बजे रसुवागढीको टिमुरेस्थित केन्द्रले ठूलो बाढी आएको बताएको छ । बाढी सानो भएपनि अघिल्लो बाढीबाट बाँकी रहेका गेग्रानका कारण केही ठूलो र केही नोक्शान गरेको छ की भन्ने हो । यसको जटिलता नुवाकोटसम्मै रहेको छ । पछिल्लो २४ घण्टामा पनि ठूलो पानी पर्ने सम्भावना रहेकाले यो क्षेत्रमा शतर्कता अपनाउनुहोला । नदी तटिय क्षेत्रमा जलविद्युत आयोजनाहरु जे जति छन्, ति आयोजनाहरुका क्षेत्रमा मुख्यतया शतर्कता अपनाउनुपर्छ । हिमताल नफुटेको र वर्षा मात्रैको अवस्था हो भने मध्यम किसिमको जोखिम छ, ठूलो जोखिम छैन । बस्तीहरु बाढी पस्ने सम्भावना छैन । मनसुन करिव डेढ महिना पार गर्दा देशका कुनैपनि ठूला नदीहरुमा खतराको तह पार गरेको छैन । आगामी तीन दिन पनि कुनै प्रमुख नदीहरुमा खतरा भन्दा बढी बाढी जाने सम्भावना छैन । साना नदीहरुमा ठूलो पानी पर्दा ठूलो बाढी आउनसक्छ । आज पनि गण्डकी, कर्णाली र वागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली क्षेत्रहरुमा आकस्मिक बाढी आउनसक्ने अनुमान गरेका छौँ । आागमी २४ घण्टाका लागि यो जोखिम हो । पछिल्लो डेढ महिना मधेस प्रदेशमा एकदमै कम वर्षा भयो । करिव ५० प्रतिशत वर्षा सरदरलाई हेर्दा मनसुनको यो अवधिसम्म भइसक्नुपर्नेमा २० देखि २५ प्रतिशत मात्रै वर्षा भएको छ । हालसम्म पर्नुपर्ने समग्र वर्षाको आधा वर्षा पनि भएको छैन । अब केही सुधार देखिएको छ । पछिल्ला केही हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आगामी दिनमा पनि केही पानी पर्ला जस्तो देखिन्छ । जल तथा मौसम विज्ञान विभागले मौसम पूर्वानुमानको पछिल्लो शुद्धतालाई हेरेर तीन दिनसम्मको पूर्वानुमान गरिएको छ । मनसुन सक्रिय हुने देखिएको छ ।’

जल तथा मौसम विज्ञान विभागले पूर्वानुमान गरेअनुसार मनसुन आगामी तीन दिन सक्रिय हुनेछ । उनले रसुवाको भोटेकोशीमा मंगलवार राति आएको बाढी सामान्य रहेको बताए । बाढी सानो भएपनि अघिल्लो बाढीबाट बाँकी रहेका गेग्रानका कारण केही ठूलो देखिएको र केही नोक्शान गर्ने भएकाले पनि नदी छेउमा शतर्कता अपनाउन आग्रह गरे ।

प्रकाशित मिति २०८२ साउन १५ गते बुधबार १२:२७
हजुरको प्रतिक्रिया