२०८३ साउन २१ गते बिहीबार

म्याग्दीमा डिजिटल माध्यमबाट हुने ठगी बढ्यो

म्याग्दीमा डिजिटल माध्यमबाट हुने ठगी बढ्यो

हरिकृष्ण गौतम

@Public 4K Tv

२०८२ साउन १६ गते बिहीबार ०९:२५

सामाजिक संजाल ह्वाटस् एप, इमो र फेसबुकको समेत दुरुपयोग गरी ठगी गरेका घटनाहरू धेरै रहेकाले विद्यार्थी तथा समुदायस्तरमा सचेतनामुलक अभियानमा सरोकारवाला निकायको समेत साथ आवश्यक रहेको थापाको भनाई छ ।

म्याग्दी ।

म्याग्दीमा एक बर्षको अवधिमा डिजिटल माध्यमबाट हुने ठगी बढेको पाइएको छ ।

सदरमुकाम बेनीदेखि ग्रामिण क्षेत्रसम्म चिट्ठा परेको भन्दै मोबाइल वालेटको ओटीपी (वान टाइम पासवर्ड) मागेर ठगी गर्ने गुनासो धेरै आउने गरेका छन ।

साउन महिनामा ग्रामिण क्षेत्रमा कारोबार गर्ने दुई सहकारीमा ओटीपी कोडमार्फत ३ लाखभन्दा बढी पैसा ठगी भएको छ ।

जिल्ला प्रहरी कार्यालयमा गत आर्थिक बर्ष २०८१÷०८२ मा अनलाइनबाट लाइसेन्स बनाइदिने, थोरै लगानीमा धेरै पैसा कमाउने, परिवारका सदस्य विरामी भएको भन्दै सामाजिक सञ्जाल ह्याक गरी साथीहरूलाई पैसा माग्ने, आफू इसेवाजस्ता मोबाइल वालेटको कर्मचारी भएको भन्दै ओटीपी कोड माग्ने र रकम ट्रान्सफर गरी ठगी गरेको पाइएको प्रहरी नायव उपरीक्षक सुर्यबहादुर थापाले बताए ।

सामाजिक संजाल ह्वाटस् एप, इमो र फेसबुकको समेत दुरुपयोग गरी ठगी गरेका घटनाहरू धेरै रहेकाले विद्यार्थी तथा समुदायस्तरमा सचेतनामुलक अभियानमा सरोकारवाला निकायको समेत साथ आवश्यक रहेको थापाको भनाई छ ।

आर्थिक बर्ष २०८१÷०८२ मा ३४ जनाले अनलाइन माकेर्टिङ, सपिङ, झुक्काएर बैदेशिक रोजगारी, चिठ्ठा प्राप्त भएको, ओटीपी कोड र फेसबुक एकाउण्ड ह्याक गरेको भन्दै प्रहरीमा उजुरी दिएका छन् ।

व्यक्तिगत रूपमा ठगिएका धेरैले परिवारका सदस्यहरूबाट गाली खाने र समाजले थाहा पाउने भन्दै लुकाउने गरेकाले म्याग्दीमा डिजिटल माध्यमबाट ठगिनेको संख्या अधिक रहेको अनुमान प्रहरीले गरेको छ ।

केही पीडितले मोवाइल एप प्रयोग नगरेको र चेकबाट मात्रै कारोबार गर्दै आए पनि कोडबाटै खाताको पैसा निकालेको भन्दै चासो देखाउने गरेका छन् ।

त्यसैले सामाजिक सञ्जालबाट मागेकै आधारमा मोबाइल एप्सको लग ईन र पासवर्ड, खाता नम्बर, ओटीपी कोडलगायतका कुनै पनि बैंकसम्बन्धी विवरण नदिन समेत अनुरोध गरिएको छ ।

प्रकाशित मिति २०८२ साउन १६ गते बिहीबार ०९:२५
हजुरको प्रतिक्रिया