इन्टरनेटसहितको डिजिटल प्रविधिको (ई–लाईब्रेरी)ले पाठकलाई सहज
म्याग्दी ।
डिजिटल प्रविधिको विकाससँगै पुस्ताकालयमा गएर पुस्तक पढ्नेहरुको कमी हुँदै गएको छ ।
मोवाइल र सामाजिक सञ्जालको लतमा फस्दा दशक अगाडीजस्तो पठन संस्कृति हराउँदै गइरहेको अवस्थामा म्याग्दी जिल्लाकै पूरानो म्याग्दी पुस्तकालयले भने पाठकलाई आर्कषित गर्न शनिबारसंगै अन्य सार्वजनिक विदामासमेत पुस्तकालय खोल्ने गरेको छ ।

पुस्तकालयभित्र इन्टरनेट तथा ई–लाइब्रेरीको समेत सुविधा रहेकाले हरेक प्रकारका पाठकहरू पुस्तकालयमा पुग्ने गरेका छन् ।
सार्वजनिक विदामा पेशागत र अन्य समयमा विद्यालयका विद्यार्थीसमेत पुस्तकालयमा पुग्ने गरेका छन् ।
आर्थिक बर्ष २०८१÷०८२ सालमा पुस्तकालयमा गएर ३ हजार १ सय १२ जना पाठकले पुस्तक पढेका छन् । त्यस्तै १ सय ६३ जना पाठकले पुस्तक आदानप्रदान गरेका छन् ।
पुस्तकालयभित्र रहेको बालकक्षमा २ हजार ९ सय ३८ जना बालबालिका प्रवेश गरेका छन् भने ५ सय ५४ बालबालिकाका अभिभावकले पुस्तक घरमा लगेरसमेत प्रयोग गरी फिर्ता गरेको तथ्यांक छ ।
पुस्तकालयभित्र इन्टरनेटको प्रयोग गरी अध्ययन गर्ने पाठक १ हजार ६११ जना रहेका छन् ।
हाल पुस्तकालयमा ८ हजार ५ सय भन्दा बढी पुस्तक रहेको म्याग्दी पुस्तकालयका अध्यक्ष अम्बिक श्रेष्ठले जानकारी दिए ।
पुस्तकालयबाट लगेर पुस्तक फिर्ता नगर्ने पाठकलाई हुलाकबाट चिठी समेत पठाउने गरेकाले पुस्तक फिर्ता दर समेत ह्वात्तै बढेको छ ।
पुस्तकालयमा बाल सामग्रीदेखि धार्मिक, साहित्यिक, अंग्रेजी, हिन्दीसहित विभिन्न विधाका पुस्तक राखिएको कक्षबाहेक श्रव्य, दृश्य, संगीत, खेलकूदका सामग्री सहित विभिन्न विधाका ८ हजारभन्द बढी पुस्तकहरु छन् ।


पुस्तकालय भित्रको वातावरण पाठकमैत्री रहेकाले नियमित पुस्तकालयमा आउने प्रकाश मावि बेनीका शिक्षक दिपक अर्यालको भनाई छ
पुस्तकालयमा एकैपटक ५० जनाभन्दा बढीलाई शान्त वातावरणमा अध्ययन गर्न सक्ने व्यवस्था छ ।
शान्त, सफा र चिटिक्कको कोठा, कोठा भरी थरिथरीका पुस्तकहरु, बच्चा देखि बृद्धा सम्मले पढ्न मिल्ने, पुस्तकका छेउमा इन्टरनेटसहितको डिजिटल प्रविधिको (ई–लाईब्रेरी) सहज भएको पुस्तकालयमा आउने विद्यार्थीको भनाई छ ।


विसं २०२७ मा स्थापना भएको म्याग्दी पुस्तकालय २०६० साल चैत्र ७ गते तत्कालीन माओवादीले बेनी आक्रमण गर्दा भवनसहित पुस्तक जलेर नष्ट भएको थियो ।
एउटा राम्रो पुस्तकालयविना पठन सभ्यता अधुरो हुने पाठकलाई समाजमा सभ्य बनाउन पुस्तकालयहरुको अहम् भूमिका देखिन्छ ।
प्रकाशित मिति २०८२ साउन १६ गते बिहीबार ११:१०




