काठमाडौं ।
अमलेखगञ्ज—लोथर पेट्रोलियम पाइपलाइनको काम शुरु भएको छ ।
चितवनको राप्ती १ लोथरमा आज कार्यालय उद्घाटन गरिएको हो ।
नेपाल आयल निगमले लोथरमा परियोजनाको फिल्ड कार्यालय स्थापना गरेर दोस्रो चरणको पेट्रोलियम पाइपलाइन विस्तारको काम शुरुवात गरेको हो ।
राप्ती नगरपालिका–१ लोथरको झन्डै २३ बिघा १२ कठ्ठा जग्गामा अत्याधुनिक सुविधासहितको ग्रीन फिल्ड टर्मिनल निर्माण गरिने निगमले जनाएको छ ।
आईओसीको मोतिहारी डिपोमा रहेको पम्प हाउसबाटै लोथरसम्म पाइपलाइनका लािग पेट्रोलियम पदार्थ पम्पिङ गर्ने व्यवस्था गरिने निगमले जनाएको छ ।
कार्यक्रममा बोल्दै नेपाल आयाल निगमका उपनिर्देशक एवं आयोजना प्रमुख प्रदीपकुमार यादवले आजबाट परियोजना अघि बढेको र यसले अमलेखगञ्जदेखि लोथरसम्म पाइप लाइन बिच्छ्याउने क्रममा जनतासँगै जोडिएको विषय भएको बताए ।
अहिले मोतीहारी अमलेखगञ्ज पाइपलाइन रहेको यादवले बताए । उक्त परियोजनाको पाइपलाइन बिच्छ्याउने काम १५ महिनाभित्रै सम्पन्न गर्ने प्रयास गर्ने पनि उनको भनाइ छ ।
अमलेखगञ्ज—लोत्थरसम्म ५४ महिनामा पाइपलाइन बिच्छ्याउने काम सक्ने लक्ष्य लिइए पनि यो धेरै लागेको उनले जानकारी दिए ।
उनका अनुसार ५४ महिनाको काम तीन वर्षमा सक्नेगरी प्रयास गरिने छ । अमलेखगञ्जबाट लोथरसम्मको दूरी ६२ किलोमिटरमा १० दशमलव ७५ इन्चको पाइपलाइन बिच्छयाइने निगमले जनाएको छ ।
पूर्वपश्चिम राजमार्गको समानान्तर पाइपलाइन निर्माण गरिनेछ । ६२ किलोमिटर लामो पाइपलाइनमा जुनसुकै बेला नियमित रूपले ३२ सय किलोलिटर इन्धन भण्डारण भइरहेको हुनेछ ।
पाइपलाइनबाट वार्षिक २० मिलियन टन इन्धन ढुवानी गर्न सकिने जनाइएको छ । लोथरमा एक सय ६० वर्गमिटरको क्षेत्रफलमा पाइपलाइन स्टेशन निर्माण हुनेछ ।
त्यसस्थानमा पेट्रोल भण्डारणका लागि ११ हजार किलोलिटर क्षमताका तीन वटा भर्टिकल ट्यांकी निर्माण हुनेछ ।
यस्तै डिजेल भण्डारणका लागि १५ हजार ५०० किलोलिटर क्षमताका तीन वटा र मट्टीतेल भण्डारणका लागि आठ सय किलोलिटर क्षमताका दुई वटा टयांकी निर्माण गरिनेछ ।
लोथरमा बन्ने नयाँ डिपोमा ९१ हजार ९०० किलोलिटर पेट्रोलियम पदार्थ भण्डारण हुनेछ । यसबाहेक दुई वटा ट्रान्समिक्स टयांक निर्माण गरिने पनि जनाइएको छ ।
पाइपलाइनसहित भण्डारण गृह निर्माण गर्न १४ अर्ब नौ करोड ६० लाख रुपैयाँ लागत लाग्ने अनुमान छ ।
प्रकाशित मिति २०८२ साउन १८ गते शनिबार १०:१०




